• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

रवीन्द्र मिश्रसँग प्रचण्डले भने : म त राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनयुद्धकालमा पनि राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा रहेको खुलाएका छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डसँगको भेटपछि तस्विर साझा गर्दै दाहालले आफूसँग यस्तो बताएको खुलासा गरेका छन् ।

प्रचण्डले राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो भनेरपनि आफूसँग भनेको मिश्रले खुलाएका छन् । दाहालले मिश्रसँग देशमा विदेशी हष्तक्षेप चरम अवस्थामा पुगेको सही हो भनेर स्विकारेका छन् ।

मिश्रले प्रचण्डसँगको भेटबारे यस्तो लेखेका छन्-

प्रचण्डसँग मनका कुरा!

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

“अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ।

त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः

१। यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२। पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका ’भिजनरी’ राजा रहेछन्।

३। द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४। राजा ज्ञानेन्द्रले पनि २०६२÷०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५। देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।

६। अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७। म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ’निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा÷बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ÷वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए।

म चाहिँ ’ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖