गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–१ साम्दोस्थित लार्के बजार पारिपट्टि शुक्रबार सुक्खा पहिरो खस्दा रेमुनाङ खोला थुनिएर ताल बनेको छ।
पहिरोले खोला थुनिएर ताल बने पनि हाल तालबाट पानी बगिरहेको र तत्काल ठूलो जोखिम नदेखिएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताएका छन्।
रेमुनाङ खोला बूढीगण्डकीको सहायक खोला हो। पहिरोका कारण बनेको ताल जुनसुकै बेला फुट्न सक्ने र त्यसले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
स्थानीय धार्के हिराचनका अनुसार खोलामा पानी बगिरहेको भए पनि ठूलो ताल बनेकाले अचानक फुट्न सक्ने सम्भावनाप्रति सचेत रहन आवश्यक छ।
यसअघि गत असोज २५ गते बूढीगण्डकीको चुम क्षेत्रस्थित उङ्गिलुङ–स्यार खोलामा आएको बाढीले घरटहरा, पुल, सडक तथा पदमार्गमा क्षति पुर्याएको थियो।
