काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले मुलुकको जिम्मेवारी सुम्पिसकेको अवस्थामा नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन दिएका छन्।
चितवन पुगेका लामिछानेले जनताले विश्वास गरेर पार्टीलाई १८२ सिट दिएको उल्लेख गर्दै त्यसलाई घमण्ड र शक्तिको दुरुपयोग गर्ने माध्यम बनाउन नहुने बताएका हुन्।
उनले पार्टीका नेता–कार्यकर्तामा जितपछि घमण्ड बढेको भन्दै जनताले हेरिरहेको अवस्थामा आफ्नो व्यवहार र गतिविधिप्रति सचेत रहन आग्रह गरे।
विगतमा पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न समस्या, मुद्दा र प्रशासनिक झन्झट भोग्नुपरेको स्मरण गर्दै उनले त्यसको बदला लिन अहिले प्रशासन वा प्रहरीलाई राजनीतिक दबाब नदिन चेतावनी दिए।
“घण्टीको मान्छे हुँ भन्दै प्रशासन र प्रहरीलाई राजनीतिक दबाब दिने काम नगर्नुहोला,” उनले भने, “जनताले दिएको अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला, पार्टीले नियालिरहेको छ।”
लामिछानेले चुनाव जित्दैमा आफूहरू अरूभन्दा फरक वा विशेष नभएको भन्दै जनताको विश्वास कायम राख्न जिम्मेवार व्यवहार र अभिव्यक्ति आवश्यक रहेको बताए।
