• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

विपत्तिमा चर्को भाडा असुल्ने यति एअरको विमानस्थल काउन्टर तोडफोड


  • धनकुटा खबर
  • .

काठमाडौं । वायुसेवा कम्पनीले सामान्य मानवीय व्यवहारको समेत ख्याल नगरी चर्को भाडा असुलेपछि एअरलाइन्सको काउन्टर तोडफोडसम्मको अवस्था सिर्जना भएको छ ।

अविरल वर्षाले सडक यातायात अवरुद्ध भएपछि हवाई उडानमार्फत उपत्यकाबाहिर जाने एक मात्र विकल्प भएको मौका छोपेर वायुसेवा प्रदायकले टिकट बिक्रीमा दोब्बर मूल्य असुल्ने तर समयमा उडान नगरेपछि यात्रुहरू आक्रोशित हुन थालेका हुन् ।

यस्तो ‘निर्मम व्यवहार’ले पीडित यात्रुहरूले मंगलबार यति एअरको काउन्टरसमेत तोडफोड गरे । यति एयरको कर्मचारीलाई समेत हात हालेका छन् ।

६ हजारको टिकटलाई १२ हजार लिएर धेरै ढिलो उडान गरेको भन्दै यात्रुहरूले काउन्टर तोडफोड गरिरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । जहाँ यति एअरका कर्मचारी र प्रहरी निरीह भएका देखिन्छन् । उनीहरूले कुनै जवाफ दिन सक्दैनन् ।

यात्रुहरू भन्छन्, ‘६ हजारको टिकटलाई १२ हजार तिरेका थियौँ । तीन चार घन्टासम्म उडान भएन । यति एअरको लापरबाहीले यात्रुहरूको धैर्यको बाँध फुट्यो । टिकेटिङ डेस्कमा तोडफोड भयो ।’

दर्जनौँ यात्रुहरूले काउन्टर घेरेर हुलदंगा गरेको भिडिओ अहिले सोसल मिडियामा भाइरल छ ।

विमानस्थल प्रहरी भने घटनाप्रति रक्षात्मक भएको छ । अरू बेलामा एक दुईजनाले असन्तुष्ट जाहेर गर्दा पक्राउ गरिन्थ्यो । तर, अहिले सबै यात्रुहरूले हुल बाँधेर आएपछि प्रहरीले केही गरेन ।

विमानस्थल प्रहरी स्रोतले भन्यो, ‘गल्ती विमान कम्पनीकै छ । यात्रुहरूको असन्तुष्टि स्वाभाविक हो । धन्न हामीले यात्रुलाई सम्झाएपछि ठुलो घटना हुन पाएन ।’

एअरलाइन्सहरूले ७ हजारको टिकेटलाई १७ हजार रुपैयाँसम्म पुर्‍याएका थिए । चौतर्फी आलोचना भएपछि विज्ञप्ति जारी गरेर आगामी तीन दिनसम्म सरकारले तोकेको उच्चदरभन्दा कम शुल्क उठाउने निर्णय भएको जानकारी दिएका थिए ।

तर, दुई दिनसम्मको टिकट उच्चदरमा बिक्री गरेर तीन दिनसम्मका लागि मध्यम भाडादर तोकेको भनी झुटो प्रचार गरेको खुल्न आएको छ ।

अहिले फेरि टिकटकको भाउ दोब्बर, तेब्बर भएको छ । राहत दिनुपर्ने समयमा यात्रुलाई हवाई सञ्चालकको आहत दिएको भन्दै यात्रुहरू विमान कम्पनीसँग चर्को असन्तुष्टि जनाइरहेका छन् ।-नेपाल भ्यूज

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖