• Wednesday 7th of October 2026

महिला साफमा उपाधि जित्ने नेपालको लक्ष्य, पहिल खेल भुटानविरुद्ध खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि हासिल गर्ने लक्ष्यका साथ तयारी गरेको जनाएको छ।

च्याम्पियनसिपको पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्सका क्रममा नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपको तयारी निकै राम्रो भएको र उपाधि हासिल गर्ने लक्ष्यका साथ मैदान उत्रने बताए।

उनले महिला टिमले यसअघि गरेको कमजोरीलाई सुधार गर्दै तयारी गरेको जिकिर गरे। च्याम्पियनसिपको तयारीका लागि कम समय भए पनि खेलका लागि नेपालको टिम पूर्णरूपमा तयारी अवस्थामा रहेको उनको भनाइ छ। त्यस्तै नेपाली टोलीका कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले टिमले कडा मेहनत गरेको र च्याम्पियनसिपको उपाधि रक्षा गर्नेगरी खेल्ने बताइन्।

त्यस्तै अन्य देशका कप्तान र प्रशिक्षकहरूले पनि च्याम्पियनसिपको तयारी राम्रो भएको र नजिता आफ्नो पक्षमा आउनेगरी खेल्ने बताएका थिए। कात्तिक १ देखि १४ गतेसम्म दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ टिमले सहभागिता जनाउँदैछन्।

च्याम्पियनसिपमा सहभागी ७ टोली दुई समूहमा विभाजन भएका छन्। प्रतियोगिताको उद्‍घाटटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् भने नेपालले आफ्नो पहिलो खेलमा कात्तिक २ गते भुटानसँग खेल्नेछ। त्यस्तै दोस्रो खेलमा ६ गते माल्दिभ्स र तेस्रो खेलमा कात्तिक ८ गते श्रीलंकासँग खेल्नेछ। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। फाइनल खेल कात्तिक १४ गते हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖