प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग गुनासो सुनाएका छन् । उनले एउटा व्यक्तिमाथि प्रधानमन्त्री खनिनु गलत भएको बताएका थिए ।
‘प्रधानमन्त्रि एउटा व्यक्तिमाथि खनिनु भयो । यो त लोकतन्त्रमा राम्रो अभ्यास होइन’, उनले छलफलका क्रममा भने, ‘दल विभाजनसम्बन्धी अध्यादेश पनि व्यक्ति लक्षित गरेर ल्याउन खोजिँदैछ । यसमा हामीले राष्ट्रपतिबाट अभिभावकीय भूमिमा चाहेका छौँ ।’
यस अध्यादेशको सबैभन्दा त्रास नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादीमा देखिएको छ । उसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी फुटाउने हरसम्भव कोसिस भइरहेको यसअघि नै बताएका छन् । त्यही कुरा उनले शीतल निवासमा सुनाउँदै प्रधानमन्त्री ओली आफूमाथि निरन्तर खनिइरहेको पोल सुनाएका हुन् ।
सबै प्रतिपक्षी नेताहरूले बोलिसकेपछि राष्ट्रपति पौडेलले अन्तिममा जवाफ फर्काएका थिए । उनले देश र सरकारको अवस्थबारे आफूलाई जानकारी दिन आएको भन्दै प्रतिपक्षी नेताहरूलाई धन्यवाद दिए ।
तर उनले दल विभाजनसम्बन्धी अध्यादेश आउनेबारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘दल विभाजनसम्बन्धी अध्यादेशबारे मलाई कुनै पनि जानकारी छैन’, उनको भनाइबारे शीतल निवास स्रोतले भन्यो, ‘दल विभाजनसम्बन्धी अध्यादेश आउने कुरा त्यतिकै भनिएको हो कि साँच्चिकै भनिएको हो, मलाई थाहा भएन । यदि आएछ भने म सबै दलको राय-सल्लाहमा निर्णय लिन्छु, एकलौटी निर्णयमा पुग्दिनँ ।’
