• Tuesday 6th of October 2026

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा भारतसँग भिड्ने


  • धनकुटा खबर
  • .

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले श्रीलंकालाई ६-० को फराकिलो गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ। अब नेपाल सेमिफाइनलमा भारतसँग भिड्नेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नै नेपालले ४-० को अग्रता लिएको थियो। सातौं मिनेटमा सविता राना मगरले नेपालका लागि पहिलो गोल गर्दै खेलमा अग्रता दिलाइन्।

त्यसको चार मिनेटपछि सावित्रा भण्डारी सम्बाले दोस्रो गोल थपिन्। १३ औं मिनेटमा रेखा पौडेलले तेस्रो गोल गर्दै नेपाललाई ३-० को स्थितिमा पुर्‍याइन्। खेलको ३५ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता ४-० बनाइन्।

दोस्रो हाफको सुरुवातमै, ४६ औं मिनेटमा अमिषा कार्कीले हेडिङ मार्फत गोल गर्दै नेपाललाई ५-० को स्थितिमा पुर्‍याइन्। खेलको अतिरिक्त समयमा, ९३ औं मिनेटमा रस्मी कुमारी घिसिङले गोल गर्दै नेपालको जितलाई ६-० को फराकिलो अन्तरमा पुर्‍याइन्।

नपालले आजको खेलका लागि टिममा चार खेलाडी परिवर्तन गरेको थियो। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी, अमिषा कार्की, र अमृता जैसीलाई सुरुआती ११ मा मौका दिइएको थियो।

यसअघि, भुटानले माल्दिभ्सलाई १३-० ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११-० ले पराजित गरेको थियो।

श्रीलंकालाई हराउँदै नेपाल समूह ‘बी’ को विजेता बनेको छ भने अब सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ बाट बंगलादेश विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

अब सेमिफाइनल खेल आइतबार हुनेछ। पहिलो सेमिफाइनल दिउँसो १:३० बजे बंगलादेश र भुटानबीच हुनेछ। दोस्रो सेमिफाइनलमा साँझ ५:३० बजे नेपाल र भारत भिड्नेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖