काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की भण्डारीले आफूहरूले न्यायपालिकाको काम–कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारेकी छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै उनले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई थुनामा राख्दा स्वस्फूर्त जमातले चिन्ता व्यक्त गरेको बताइन् ।
‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन,’ उनले भनिन्, ‘देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।’
यसका साथै उनले गृहमन्त्री रमेश लेखकलाई सभापति लामिछानेलाई थुनाबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने विषयमा सोच्न आग्रह गरिन् ।
