काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले पाएको सात दिने म्याद सकिएको छ ।
कास्की जिल्ला अदालतले गत बिहीबार थप अनुसन्धानका लागि लामिछानेलाई सात दिनसम्म हिरासतमा राख्न अनुमति दिएको थियो, जसको अन्त्य कात्तिक १४ मा भएको हो । तर, आज कात्तिक १५ गतेदेखि तिहारको सरकारी बिदा सुरु भएका कारण लामिछाने तिहार बिदा सकिएपछि मात्र अदालतमा पेस हुने छन् ।
तिहार बिदापछि सरकारी कार्यालयहरू कात्तिक २० गतेदेखि मात्र सञ्चालनमा आउने भएकाले, लामिछानेको थप हिरासत म्यादबारे निर्णय पनि सोही दिन मात्रै हुने भएको छ । उक्त दिन अदालतले थप म्यादको आवश्यकता वा सम्भाव्यतालाई लिएर छलफल गर्नेछ । यद्यपि तिहारको बिदामा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्न सकिन्छ, जसलाई अदालतले पर्व बिदामा पनि हेर्न सक्छ ।
यसअघि, पूर्व डीआईजी छविलाल जोशीको मामलामा सर्वोच्च अदालतले हिरासतलाई कानुनी मान्यता दिएको थियो र बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको थियो । सो आदेशमा सर्वोच्चले जोशीलाई गैर कानुनी रूपमा थुनामा राखिएको ठहर नगरेको उल्लेख गरेको थियो ।
लामिछानेको बयान सकियो, ४५ पेज लामो
सूर्य दर्शन सहकारीको रकम दुरुपयोगको आरोपमा पक्राउ परेका रवि लामिछानेले ९ दिनसम्म बयान दिएका छन् । अनुसन्धानका क्रममा लामिछानेले सूर्य दर्शन सहकारीको कुनै पनि जिम्मेवारीमा नरहेको र सहकारीबाट ऋण नलिएको दाबी गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत वसन्त शर्माले लामिछानेको ४५ पेज लामो बयान प्रमाणित गरेका छन् । बयानमा उनले सूर्य दर्शन सहकारीको सञ्चालक वा कुनै पदमा आफू संलग्न नरहेको स्पष्ट पारेका छन् ।
यस प्रकरणमा लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई, र रामबहादुर खनाल पनि हिरासतमा छन् ।
