काठमाडौं । मध्यरातसम्म यात्रुहरुलाई बिमानस्थभित्र बसमा राखेर श्री एयरलायन्सका प्रतिनिधि सम्पर्कबिहीन भएका छन् । काठमाडौंबाट धनगढी जान लागेका यात्रुहरुको उडान स्थगित भएपछि उनीहरुराई होटल लगेर राख्नुपर्नेमा भण्डै ११ बजेसम्म वास्ता नगरिएपछि यात्रुहरु आक्रोसित भएका छन् ।
एक यात्रुले भने, “यति राती भइसक्यो । बसमा राखेका महिला र केटाकेटीको बिचल्ली भएको छ । हामी करिव ३० जना छौं । एयरलाइन्सले कुनै निर्णय गर्दैन । काउन्टरमा दुई जना कर्मचारी छन् ।
उनीहरु निर्णय गर्न सक्दैनन् । बिहान साढे ६ बजे उडाउने भनेको छ । घर जाने उपाय पनि छैन् । राति भइसक्यो ।” कुनै कारण उडान स्थगित भएमा यात्रुहरुलाई सहज र सम्मानपूर्वक राम्रो होटलमा राख्नु एयरलायन्सको दायित्व हुन्छ । तर श्री एयरलायन्सले गैरजिम्मेवार तरिका देखाएको यात्रुहरुको गुनासो छ ।
यात्रु कम भएर तीन वटा उडान गर्दा पनि आफूहरुलाई नउडाएको तर सोही समयमा बुद्ध एयरको दुई–तीन वटा धनगढी उडान गरेको बताए । राति नेपाल नागरिक उड्डन प्राधिकरण र श्री एयरलायन्सका कर्मचारीहरु भने सम्पर्कमा आएनन् ।
उनीहरुले जसलाई घर जान इच्छा हुन्छ, उनीहरुलाई गाडीको सुविधा दिने घर जान नसक्नेहरुलाई खान र बस्ने व्यवस्था मिलाइदिन आग्रह गरे पनि श्री एयरलायन्सका प्रतिनिधिले कुनै चासो नदिएको बताए । प्रहरीेले यस्तो अवस्थामा यात्रुहरुप्रति एयरलायन्सलाई जवाफदेही बनाउनुपर्नेमा उल्टै असहयोग गरेको गुनासो गरे ।
