काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिईएको छ । शक्ति गौचनले टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाउदा धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक तोकिएको छ ।
एसिया कपमा नेपालको पहिलो खेलमा श्रीलंकासॅंग रहेको छ । एसिसीले शुक्रवार जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ ।
५० ओभरमा हुने खेल युएईमा आयोजना हुदैछ ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका २ विजेताबीच मंसिर २३ मा फाइनल खेल हुनेछ ।
नेपाली टिम
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार
