• Tuesday 6th of October 2026

नेपाल आइपुगे चर्चित अस्ट्रेलियन अलराउण्डर बेन कटिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ नेपाल आइपुगेका छन् । कटिङले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्नेछन्।

बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले लुम्बिनी लायन्सको टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।

कटिङले आफ्नो करियरमा विश्वभरका टी-२० लिगहरूमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग ब्यास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारिबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला फ्रेन्वाइजहरूमा सहभागी भएका छन् ।

विशेषगरी सन् २०१६ को आईपीएल फाइनलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन उनले देखाएको उत्कृष्ट प्रदर्शन क्रिकेटप्रेमीहरुमाझ अहिलेसम्म पनि ताजा छ। लामो छक्का हान्ने क्षमता र चुनौती पूर्ण अवस्थामा पनि बलिङ गर्न सक्ने उनको खुबीले उनलाई कुनै पनि टी- २० टिमको लागि एउटा अमूल्य खेलाडी बनाएको छ ।

नेपाल प्रिमियर लिगको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा उनले आफु निकै उत्साहित भएको बताएका छन्। लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उन्को लक्ष्य रहेको छ ।

कटिङले आफूलाई टी-२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन् । उनले १७० भन्दा बढी टी-२० खेल खेलेका छन् जसमा २००० भन्दा बढी रन बनाएका छन् भने उनको स्ट्राइक रेट १५० भन्दा माथि रहेको छ। साथै बलिङतर्फ उनले १२६ विकेट लिएका छन् भने उनको इकनोमी रेट ८.५३ रहेको छ ।

लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् भने प्रमुख प्रशिक्षकमा नन्दन फाड्निस रहेका छन्। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मङ्सिर १९ गते विराटनगर किङ्सविरुद्ध खेल्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖