काठमाडौं । युएईमा जारी यु-१९ एसिया कपमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको छ । सान्त्वना जितको खोजीमा रहेको नेपाललाई अफगानिस्तानले १ सय २४ रनको सामान्य लक्ष्य दिएको थियो, जुन नेपालले पूरा गरेको हो ।
युएईको सारजाहमा जारी खेलमा टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५.४ ओभरमा अल आउट हुँदै १ सय २३ रन जोड्यो । अफगानिस्तानका लागि फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
यस्तै खातीर खानले २६ बलमा १५, अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन जोडे । नेपालका लागि युनिश बिक्रम सिंह ठकुरी र सन्तोष यादवले समान ३ तथा हेमन्त धामी, अभिषेक तिवारीले समान २ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रन र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलंकासँग १ सय ३१ रनले पराजित भएको थियो ।
