राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि निरन्तर दमन भएमा निलो क्रान्तिबाट रातो क्रान्तिमा जान सक्ने चेतावनी दिएका छन्।
भक्तपुर जिल्लाको ऐतिहासिक प्रथम जिल्ला भेलाका विषयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेताहरुले यस्तो चेतावनी दिएका हुन्।
पार्टी भक्तपुर जिल्ला संयोजक रामेश्वर बस्नेतले पार्टीको क्रान्ति ‘निलो क्रान्ति’ भएको बताउँदै भने, ‘यदि यस्तै दमन जारी रह्यो भने हाम्रो क्रान्ति निलोबाट रातोमा रूपान्तरण हुनेछ।’ उनले जिल्ला भेला केवल बैठक मात्र नभई आन्दोलनको स्वरूप पनि रहेको र यो शक्ति प्रदर्शनको एउटा रूप भएको बताए।
बस्नेतले भेलामा भक्तपुरका चारवटै नगरपालिकाका सबै वडाबाट जनताको स्वतःस्फूर्त सहभागिता रहने दाबी गरे। भक्तपुर, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायणका ३८ वटै वडाबाट पार्टीमा आधिकारिक रूपमा आबद्ध ५० जना भन्दा कम नहुने गरी प्रतिनिधिहरू आउने उनले बताए।
भेलालाई पार्टीका उपसभापति डिपी अर्याल, सोविता गौतम, विराज भट, सन्तोष परियारलगायतका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।
