काठमाडौं । कीर्तिपुरको त्रिवि मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दोस्रो क्वालिफायर खेल हुँदैछ ।
मध्यान्ह १२ बजेपछि सुरु हुने खेलमा फाइनल प्रवेशका लागि जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् ।
जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । लिग चरणमा शीर्ष २ मा परेकाले उसले फाइनलमा पुग्न दोस्रो अवसर पाएको हो ।
यता कर्णालीले भने एलिमिनेटरको खेलमा चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
आजको विजेताले शनिबार सुदूरपश्चिमविरुद्ध उपाधि भिडन्त गर्नेछ ।
आज जनकपुर र कर्णाली दुवै टोलीका लागि फाइनल पुग्नका लागि अन्तिम अवसर हो । यसर्थ उनीहरू आज एक–अर्कालाई हराएर फाइनलमा पुग्न चाहन्छन् ।
यसअघि समूह चरणको खेलमा जनकपरले कर्णालीलाई ८ विकेटको भारी अन्तरले हराएको थियो । यसर्थ आज जनकपुर यही नतिजा दोहोर्याएर फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ ।
अर्कोतिर कर्णालीको बुधबार चितवनलाई २१ रनले हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएपछि मनोबल उच्च छ । यसर्थ सोही मनोबलका साथ जनकपुरलाई हराएर फाइनलमा पुग्न चाहन्छ ।
कस्ता छन् यी दुई टोली ?
जनकपुर बोल्ट्स
एनपीएल उपाधिको दाबेदार टोलीमध्ये एक हो, जनकपुर । लिग चरणमा लगातार सानदार प्रदर्शन गरेको टोलीले ७ खेलमा ५ खेल जितेको छ भने चितवन र सुदूरपश्चिमसँग हार व्यहोर्यो ।
स्पीनर र मिडल अर्डर बलियो रहेको यस टोलीले जुनसुकै बेलामा पनि विपक्षीलाई हराउन सक्ने क्षमता राख्दछ ।
ओपनर एवं कप्तान अनिलकुमार साह घाइते भएपछि यो टोली मारमा परेको छ । उनको सट्टामा बुधबार आरिफ शेखले कप्तानी गरेका थिए । तर टोलीले सुदूरपश्चिमसँग ८ विकेटको फराकिलो हार ब्यहोर्यो । यसअघि अनिलको कप्तानीमा टोली लयमा देखिएको थियो । बुधबारको खेलमा त्यो लय देखिएन । टोलीलाई आवश्यक पर्दा उनी राम्रो खेलिरहेका पनि थिए । उनले कर्णालीविरुद्ध ६२ र लुम्बिनीविरुद्ध ४५ रनको महत्वपूर्ण पारी खेलेका छन् ।
अर्काेतिर जारी एनपीएलमा आसिफको ब्याट भने त्यति चलिरहेको छैन । राष्ट्रिय टोलीबाट राम्रै प्रदर्शन गर्ने उनको एनपीएलमा प्रदर्शन त्यति गतिलो छैन । उनी पहिलो खेलमा विराटनगरविरुद्ध शून्य रनमै आउट भएका थिए । उनले त्यसपछिका खेलमा ३६, ३३, १६, ४, २ र २३ रन बनाएका छन् ।
तेस्रो नम्बरमा ब्याटिङ सम्हाल्न आउने लाहिरू मिलान्था भरपर्दो ब्याटर हुन् । उनले उद्घाटन खेलमै विराटनगरविरुद्ध ७५ रनको यादगार इनिङ्स खेलेका थिए । उनले पछि २४, ४५, २४, ७, १६ र १ रन बनाएका छन् । उनी टोलीबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । यद्यपि बुधबार भने उनको ब्याटिङ चलेन ।
अर्का अलराउन्डर हुन्, हर्ष थाकेर । उनी टोलीको आवश्यकताअनुसार मिडल अर्डरमा समेत ब्याट गर्न आउँछन् । तर, उनको ब्याट भन्दा पनि बल बढी चम्किरहेको छ । उनले १० विकेट लिएका छन् ।
न्युजील्याण्डका खेलाडी जेम्स निशमले पनि विस्फोटक ब्याटिङ गर्दछन् । उनी एनपीएलकै छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले चितवनविरुद्ध १८ बलमा अर्धशतक बनाएका थिए । त्यस खेलमा उनले ६५ रन बनाए । बुधबारको खेलमा पनि उनले ४५ रन बनाए ।
बुधबार सुदूरपश्चिमविरुद्ध २६ रन बनाएका शुभ कंसाकारले पनि टोलीलाई आवश्यक परेको बेला योगदान दिन सक्छन् ।
टोलीको बलियो पक्ष हो, स्पीनर । स्पिनर ललित राजवंशीले १४ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेको सूचीमा दोस्रो स्थानमा छन् । यस्तै, तीव्र गतिका बलर किशोर महतोले ११ विकेट लिएका छन् ।
कर्णाली याक्स
कर्णाली याक्स एनपीएलको सबैभन्दा धेरै चर्चामा रहेको टोली हो । भारतीय खेलाडी शिखर धवनको अनुबन्धले चर्चित बनाए पनि प्लेअफमा पुग्न भने अन्तिमसम्म कुर्नु परेको थियो ।
यस टोलीमा टप अर्डरमा सन्तुलन छैन । सुरुका केही खेलमा धवन र देव खनालको जोडी ओपनिङमा आउँथ्यो । तर, उक्त जोडी जम्न सकेन । खनालले विराटनगर किंग्सविरुद्ध ५३ रन बनाउनुबाहेक सम्झनालायक प्रदर्शन गरेका छैनन् । यता, धवनले भने ४ खेलमा १३६ रन बनाए । उनी स्वदेश फर्किसकेका छन् । ओपनिङमा आएका रित गौतमले लगातार खराब प्रदर्शन गरिरहेका छन् ।
यस टोलीको बलियो पक्ष मिडल अर्डर र बलिङ हो । विलियक बिस्सोटोले गतिलो प्रदर्शन गर्दै आइरहेका छन् । उनी दुई खेलमा म्यान अफ द म्याच भइसकेका छन् ।
चार खेलमा मात्र ब्याटिङ गरेका उनले ६६, २, ४४ र १६ रन बनाएका छन् साथै ८ विकेट लिएका छन् । बलिङमा उनलाई साथ दिएका नन्दन यादवले ७ विकेट लिएका छन् ।
बुधबारको खेलमा जयकिशन कोल्सावालाले अर्धशतक बनाए । यसर्थ उनीबाट आज पनि राम्रो प्रदर्शनको आशा गरिएको छ ।
बुधबार २३ बलमा अविजित ४६ रन बनाएर प्लेयर अफ दी म्याच भएका चान्डविच वाल्टनबाट पनि टोलीले आशा राखेको छ ।
कर्णालीको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामीले गरिरहेका छन् । सोमपालको प्रदर्शन मध्यम छ । उनले बुधबार २ विकेट लिन सफल भए । समान २ विकेट लिएका नन्दन यादवबाट टोलीले आज बढी आशा गरेको छ ।
अधिकांश खेलमा उच्च प्रदर्शन गरेका १६ वर्षीय विपिन शर्मा बुधबारको खेलमा भने जम्न सकेनन् । यद्यपि, आज उनको बलिङ चल्ने अपेक्षा गरिएको छ ।
अर्कोतिर अलराउन्डर गुल्शन झाको पनि प्रदर्शन सन्तोषजनक हुन सकेको छैन ।
