• Tuesday 6th of October 2026

बंगलादेशलाई हराउँदै भारतले जित्यो यू–१९ महिला एसिया कपको उपाधि


  • धनकुटा खबर
  • .

काठमाडौं । बंगलादेशलाई हराउँदै भारतले यू–१९ महिला एसिया कपको उपाधि जितेको छ ।

आइतबार मलेसियाको क्वालालाम्पुरमा भएको फाइनल खेलमा भारतीय टोलीले बंगलादेशलाई ४१ रनले पराजित गर्दै उपाधि जितेको हो ।

बंगलादेशले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

भारतका लागि ओपनर गोंगडी त्रिशाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५२ रन बनाइन् । बंगलादेशका लागि फरजाना अस्मिनले सर्वाधिक ४ विकेट लिएकी थिइन् ।

११८ रनको लक्ष्य पछ्याएको बंगलादेश १८.३ ओभरमा ७६ रन बनाएर अलआउट भएको थियो । बंगलादेशका ९ ब्याटरले दोहोरो अंक छुन सकेनन् । जौरिया फिरदौसले सर्वाधिक २२ रन बनाइन् ।

भारतका लागि आयुषी शुक्लाले ३ विकेट लिइन् भने पारुनिका सिसोदिया र सोनम यादवले २/२ तथा भिजे जोशीथाले १ विकेट लिए ।

भारतीय टोलीले यस प्रतियोगितामा पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

नेपाल भने प्रतियोगिताको सुपर–४ सम्म पुगेर बंगलादेशसँग पराजित भएको थियो । यसपछि नेपालले तेस्रो स्थानमा चित्त बुझाएको थियो । नेपाललाई हराएपछि बंगलादेश फाइनलमा पुगेको थियो ।
नेपाली टोली मलेसियाबाट आइतबार राति स्वदेश फर्किएको छ ।

एसियाली क्रिकेट परिषदले पहिलो पटक महिला यू–१९ एसिया कप आयोजना गरेको हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖