एजेन्सी । विश्व फूटबलका प्रमुख प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले सन् २०२४ मा एक–एक तथ्याङ्कमा एकअर्कालाई पछि पारेका छन् ।
गोलमा रोनाल्डोे तथा एसिस्टमा मेसी अगाडि देखिएका छन् । अमेरिकी क्लब इन्टर मायमीबाट खेलिरहेको अर्जेन्टिनाका मेसीले यो वर्ष ३६ खेल खेल्दै २९ गोल तथा १८ एसिस्ट गरेका छन् ।
यस्तै साउदी अरेबियाको अल नासरबाट खेलिरहेका रोनाल्डोले ५१ खेल खेल्दै ४३ गोल गरेका छन् भने ७ एसिस्ट प्रदान गरेका छन् ।
यो तथ्याङ्क क्लब र राष्ट्रिय टोली दुवैमा हो । यी दुवै खेलाडी आ–आफ्नो क्लब र राष्ट्रिय टोलीका कप्तान हुन् ।
ट्रफीका हिसाबले मेसी रोनाल्डोभन्दा २-0 ले अगाडि देखिएका छन् । यो वर्ष मेसीकै कप्तानीमा अर्जेन्टिनाले लगातार दोस्रो कोपा अमेरिकाको उपाधि जित्यो । साथै मेसीले इन्टर मायमीबाट सपोर्टर्स शिल्ड पनि जित्न सफल भए ।
यता रोनाल्डो भने ट्रफी जित्ने विषयमा यो वर्ष असफल रहे । उनी नेतृत्वको पोर्चुगल युरोकपको क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
मेसीले हालसम्म क्लब र राष्ट्रिय टोलीबाट गरी ४५ वटा ट्रफी जितेका छन् । यो फूटबल इतिहासकै सर्वाधिक हो । उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा विश्वकपको उपाधि जितेको थियो ।
रोनाल्डो सम्मिलित टोली पोर्चुगल भने हालसम्म विश्वकपको सेमिफाइनलभन्दा अघि बढ्न सकेको छैन ।
