काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेसहित ६ खेलाडी पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा अटाएका छन् ।
पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८ /१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी समावेश गरिएका थिए ।
सिल्भर क्याटगोरीमा नेपाली खेलाडीहरु आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी रहेका थिए ।
पिएसएलमा अनुबन्ध हुने खेलाडी ड्राफ्टबाट छनोट गरिने छ । पिएसएलका अनुसार खेलाडी ड्राफ्ट १३ जनवरीमा पाकिस्तानको लाहोरमा हुनेछ ।
दशौं संस्करणको पिएसएल १० अप्रिलमा सुरु हुनेछ । लिगमा अघिल्ला संस्करणमा जस्तै यस पटक पनि ६ टोलीबीच प्रतिस्पर्धा हुने जनाएको छ ।
