• Monday 5th of October 2026

इन्जुरी समयमा दुई गोल गर्दा लिभरपुलको जित, आर्सनल बराबरीमा रोकियो


  • धनकुटा खबर
  • .

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले रोमाञ्चक जित निकालेको छ । लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेजले २ गोल गरे । दुवै गोल खेल सकिन लाग्दा भएका थिए । इन्जुरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गर्दै उनले लिभरपुलका लागि ५०औं अंक दिलाए ।

खेलभर कुल ३७ पटक शटको मौका पाएपनि लिभरपुलले ८ वटा मात्र टार्गेटमा राखेको थियो । ६५औं मिनेटमा मैदान प्रवेश गरेका डार्विनले लिभरपुललाई अवे मैदानमा ३ अंक हासिल गराए । जितसँगै लिभरपुलको २१ खेलबाट ५० अंक भएको छ । ब्रेन्टफोर्ड २२ खेलबाट २८ अंकसहित ११औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा आर्सनल घरेलु मैदानमै बराबरीमा रोकिएको छ । आर्सनललाई एस्टन भिल्लाले २-२ को बराबरीमा रोकेको हो ।

खेलमा दुई गोलको अग्रता लिएको भएपनि आर्सनलले जोगाउन सकेन । ३५औं मिनेटमा गाब्रियल मार्टिनेली तथा ५५औं मिनेटमा काइ हाभेर्ट्जले गोल गरेपछि आर्सनल २-० ले अघि बढेको थियो ।

तर ६०औं मिनेटमा युरी टिलेमान्स र ६८औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै खेल बराबरीम ल्याएका थिए । बराबरीपछि आर्सनल २२ खेलबाट ४४ अंकमा छ भने भिल्लाको २२ खेलबाट ३६ अंक छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖