बैतडी,माघ १२। बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत सुरेन्द्रबहादुर बिष्ट मृत फेला परेका छन्। शिक्षालयमा कृषि सहायक प्रशिक्षक पदमा कार्यरत बिष्ट मृत फेला परेका हुन् ।
उपचारका लागि काठमाण्डौं गएका बिष्ट बैतडी फर्कने क्रममा बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा शुक्रबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका बताइएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ घर भएका २५ बर्षीय बिष्ट केही दिन अघिमात्रै उपचारका लागि भन्दै काठमाण्डौं गएका थिए। जिल्ला अस्पतालमा चेकजाँच गराउँदा उनमा जण्डीसको समस्या देखिएकाले थप उपचारका लागि काठमाण्डौं गएका शिक्षालय प्रमुख जीवन पन्तले बताए।
शिक्षालयमा कार्यरत एक कुशल प्रशिक्षकको निधनको खबरले शिक्षालय परिवार शोकमा डुबेको छ। घटनाका बिषयमा निष्पक्ष छानबीन गरिदिन परिवारजनले आग्रह गरेका छन्। मृतक बिष्टका घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। बिष्टको मृत्यु भएपछि उनको घरपरिवार विचल्लीमा परेको छ।
