• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दुई किशोरी मृत्यु प्रकरणः बिहे गर्न नमानेपछि हत्या गरेको आशंका


  • धनकुटा खबर
  • .

अछाम,माघ १५। अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या गरेको आशंकामा प्रहरीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ । उनीहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले एक जना किशोरीले बिहे गर्न नमानेपछि उनको हत्या भएको देखिएको छ। पक्राउ परेका १७ वर्षीय किशोरले मृत भेटिएकामध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए। तर, ती किशोरीले बिहे गर्न अस्वीकार गरेकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १७ वर्षीय किशोर बिहेको दबाब दिन किशोरीहरू गोठाला गएको जंगलमै पुगेका थिए ।

उनका साथमा अरु साथीहरू पनि थिए। उनले बिहेका लागि निकै दबाब दिए। तर, किशोरीले मानिनन्। नमानेपछि भीरबाट खसालिदिए । घटनाबारे अर्की किशोरीले देखेपछि उनलाई समेत त्यसरी नै भीरबाट खसालिएको प्रहरीले जनाएको छ।

यसअघि दुई जनालाई पक्राउ गरिएकोमा सोमबार थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको अछाम प्रहरी प्रमुख, डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । पक्राउ परेकाहरू ती किशोरीको भिनाजु नाता पर्ने रहेका प्रहरीले जनाएको छ। किशोरीहरूको शवको भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ।अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा किशोरीहरूको टाउकोमा गम्भीर चोट देखिएको छ भने एक किशोरीको मेरुदण्ड नै भाँचिएको पाइएको छ।

उनीहरूमाथि बलात्कार भएको हो वा होइन भन्ने परीक्षणका लागि भेरी अस्पतालले स्वाब संकलन गरेर विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ। अछामको ढकारी गाउँपालिका–८ पल्साताका दुई किशोरी शनिबार दिउँसो जंगलमा मृत अवस्थामा फेला परेका थिए। उनीहरू बाख्रा चराउन शुक्रबार जंगल गएका थिए। शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि उनीहरूको खोजी थालिएको थियो । त्यसक्रममा गोठाला गएको जंगलमा करिब १६ मिटरको फरक दुई किशोरीको शव फेला परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖