• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ब्रिटिस सेनाको उच्च तहदेखि राजा चार्ल्सको सुरक्षा दलसम्म खाम्चामगर


  • धनकुटा खबर
  • .

नरेन्द्र बस्नेत,लन्डन । स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका टोल खाम्चामगर बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा सेरेमोनियल ‘किंग्स् गार्ड’ को रूपमा छनोट भएका छन् । आउँदो फेब्रुअरी २० तारिखदेखि ड्युटी सुरु गर्ने तयारीमा रहेका टोल खाम्चामगर भूतपूर्व ब्रिटिस गोर्खा समेत हुन् ।

बेलायती राजदरबारमा ‘किंग्स् गार्ड’ नियुक्त भएपछि राजा चार्ल्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा सम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी रहने उनले बताए । यस अघि ‘ किंग्स् गार्ड’ को रूपमा रहेको उक्त पद चार्ल्स तृतीय राजा भएपछि उक्त पोस्ट ‘किंग्स् गार्ड’ मा परिवर्तन भएको हो ।

सो पदमा नियुक्त भएपछि उनले हेड अफ स्टेटको भिजिटका बेला, संसद् सुरु हुने बेला राजाको सम्बोधनका क्रममा, शाही परिवारको स्वर्गारोहण हुँदा आदि समारोहमा परिचालन गरिने किंग्स् गार्ड अन्तर्गत रहेर काम गर्नुपर्नेछ ।

उक्त पदमा रहेर काम गर्ने सम्भवतः उनी पहिलो भूपू गोर्खा तथा नेपाली मूलका व्यक्ति हुन् । उक्त पदको लागि छनौट प्रक्रिया निकै लामो र जटिल हुने उनले बताए । आफूले गत वर्ष अक्टोबरमा आवेदन दिएको र दरबार निकट उपल्लो तहका व्यक्तिहरूसँग तीन चरणका अन्तर्वार्ता पूरा गरेपछि ‘किंग्स् गार्ड’ मा छनोट भएको उनले बताए ।

राजपरिवार निकटलाई मात्र छनोट गरिँदै आएको सो पदमा पछिल्लो समय इक्वेलिटी एन्ड डाइभर्सिटी र इन्क्लुसिभका कारण ब्रिटिस आर्मी, नेभी तथा रोयल एयर फोर्सलाई पनि समावेश गर्न थालिएको उनले बताए ।

‘किंग्स् गार्ड’ मा आवेदन दिनको लागि ब्रिटिस सेनामा कम्तीमा पनि २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको हुनुपर्नेछ । साथै मिलिट्री सिभी तथा आफूले प्राप्त गरेका मेडललगायतका विषयले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । उनले यसअघि रोयल दरवार निकट रहेर हाउस होल्डमा समेत डेढ वर्ष काम गरेका थिए ।

एउटा विकट गाउँमा हुर्किएको सामान्य मानिस रोयल हाउस होल्डको सदस्य भएपछि पाएको यो अवसर नेपाल र गोर्खाको प्रतिष्ठासँग पनि गाँसिएको उनको धारणा छ । गोर्खाहरूले राजा र ब्रिटिस साम्राज्यलाई सेवा गरेको इमानदारी र बहादुरीका कारण आफूलाई यो अवसर मिलेको उनको बुझाइ छ ।

ब्रिटिस आर्मीको सिपाहीबाट सेवा सुरु गरेका खाम्चामागरले झन्डै ३६ वर्ष बेलायती सेनामा रहेर छैटौँ वरीयतामा रहेको लेफिटनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकास लिए । सिपाही दर्जाबाट सेवा सुरु गरेपछि ब्रिटिस आर्मीको सबैभन्दा उच्चतम पद नै लेफ्टिनेन्ट कर्णेल हो।

सेवाका दौरान खाडी युद्धमा साउदी अरबदेखि कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौँ देशमा खटिएर महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । सन् १९८६ मा लिलाकुमारीसँग बिहे गरेका खाम्चामागर दुई छोरी र एक छोरासहित बेलायतमा बस्दै आएका छन् ।-ratopati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖