• Tuesday 6th of October 2026

सैफमाथि हमला : पक्राउ परेका शरीफुलको ’अनुहार पहिचान परीक्षण’ पोजेटिभ


  • धनकुटा खबर
  • .

मुम्बई । सैफ अली खानमाथि हमला गरेको आरोपमा पक्राउ परेका शरीफुल इस्लामको अनुहार पहिचान परीक्षण पोजेटिभ आएको छ । सैफको अपार्टमेन्टको सीसीटीभी फुटेजमा आरोपीको अनुहार कैद भएको थियो । यस परीक्षण रिपोर्टमा सो व्यक्ति र शरीफुल दुवैलाई एउटै बताइएको छ ।

अनुहार पहिचान बाहेक, प्रहरीले घटनाको समयमा अभियुक्तले लगाएको लुगा, हतियार, उपकरण, एउटा तौलिया र झोला पनि फरेन्सिक परीक्षणको लागि पठाएको थियो।

शरीफुलका बुबा र उनका वकिलले भने सैफको आक्रमणकारी अरू नै भएको दाबी गर्दै आएका थिए । प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप थियो ।

त्यसपछि प्रहरीले सीसीटीभीमा कैद भएको अभियुक्तको अनुहारसँग शरीफुलको अनुहार मिलाउन फेस रिकग्निसन टेस्ट गरेको थियो ।

मुम्बई पुलिसका अनुसार दुई हप्ताअघि अभिनेताको घरमा प्रवेश गरी छुरा प्रहार गर्ने एक व्यक्ति शरीफुल इस्लाम भएको परीक्षण रिपोर्टले पुष्टि गरेको छ । घटनाको बारेमा जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘फेसियल रिकग्निसन रिपोर्ट बाहेक हामीसँग सीसीटीभी फुटेज, मोबाइल फोन लोकेशन र इन्टरनेट प्रोटोकल डिटेल रिपोर्ट जस्ता प्राविधिक प्रमाणहरू छन्, जसले पक्राउ गरेको अभियुक्त शरीफुल वास्तविक व्यक्ति हो भन्ने प्रमाणित गर्दछ ।’

प्रहरी हिरासत सकिएपछि अभियुक्त शरीफुल इस्लामलाई बुधबार बान्द्रा अदालतमा पेस गरिएको थियो। अदालतले आरोपितलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो ।

सो दिन प्रहरीले घटनाअघि अभियुक्तले घटनास्थलको रेकी गरेको र पूर्ण तयारी गरेको अनुसन्धानबाट खुलेको बताएको थियो । अभियुक्तका अरू केही सहयोगी हुन सक्छन् भनेर अनुसन्धान जारी छ । साथै शरीफुलका आफन्तलाई पैसा पठाएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

सैफ अली खानको घरमा १६ जनवरीको बिहान २ बजे हमला भएको थियो । उनको हात र ढाडमा चोट लागेको छ । उनको मुम्बईको लीलावती अस्पतालमा ५ दिनसम्म उपचार भएको थियो ।
दैनिक भास्करबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖