• Tuesday 6th of October 2026

देशका धेरैजसो ठाउँमा आज र भोलि पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका धेरैजसो ठाउँमा आज र भोलि वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरि दाहालका अनुसार आज र भोलि केही स्थानमा हिजोको तुलनामा अझै ठूलो वर्षा हुन सक्नेछ।

मनसुनी तथा पश्चिमी वायुको प्रभावका कारण देशका धेरै भागमा अहिले मध्यम वर्षा भइरहेको छ भने एक–दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। भोलिसम्म केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि लगातार झरी भने नपर्ने जनाइएको छ।

आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव कायम छ। कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

पर्सिदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको अनुमान छ।

यसैबीच, गएराति बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ। दैलेख, कैलाली, बर्दिया, जाजरकोट, दाङ, प्युठान, कपिलवस्तु, कास्की तथा आसपासका क्षेत्रमा परेको वर्षाका कारण त्यहाँका साना नदी तथा खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖