गायिका ज्योति मगरले पत्रकार प्रकाश सुवेदीलाई लक्षित गर्दै लामो फेसबुक स्टाटस लेखेकी छन्, जसले सामाजिक सञ्जालमा चर्चा पाएको छ। उनले सुवेदीमाथि सधैं आफूविरुद्ध नकारात्मक टिप्पणी गर्ने आरोप लगाएकी छन्।
‘प्रकाश सुवेदी दाइले जहिले पनि मलाई आलोचना मात्र गर्नुहुन्छ,’ उनले लेखेकी छन्, ‘पत्रकारले हेपेको कलाकार नै दरो हुने रहेछ।’ उनले आफू एक्लै लड्ने भन्दै, ‘कुकुरहरू झुन्डमा आउँछन्, सिंह एक्लै’ भन्ने भनाइ उल्लेख गरेकी छन्।
हालै एक टेलिभिजन कार्यक्रममा सुवेदीले ज्योतिलाई सामाजिक सञ्जालमा लेख्दा विचार गर्न सुझाव दिएका थिए। उनले गायिका समीक्षा अधिकारीमाथि ज्योतिले गरेको टिप्पणीको आलोचना गर्दै, ‘बरिष्ठ गायिकाले कनिष्ठलाई माथि तान्नुपर्ने हो, तर उल्टै गाली गरिन,’ भनेका थिए। साथै, उनले समीक्षाको स्वरको तारिफ गर्दै, ‘उनको स्वरमा जादू छ, गायन क्षमताका हिसाबले उनको कद उच्च छ,’ भन्दै ज्योतिलाई कटाक्ष गरेका थिए।
