काठमाडौं । सोमबार युवा विद्यार्थीसँग अन्तरक्रिया गर्न बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकजना विद्यार्थीले अनपेक्षित प्रश्न गरेपछि कार्यक्रमको माहौल नै बदलियो ।
फोनिक्स इन्स्पिरेशन एण्ड एम्पेरियल वर्ल्ड स्कूलले प्रधानमन्त्रीसँग आयोजना गरेको साक्षात्कार कार्यक्रममा विद्यार्थीहरूले रमाइला प्रश्न गरेका थिए ।
कार्यक्रमको अन्ततिर ९ कक्षामा पढ्ने एकजना विद्यार्थीले प्रधानमन्त्री ओलीलाई एउटा यस्तो प्रश्न सोधे जसको प्रधानमन्त्रीलाई र आयोजकलाई समेत सम्भवतः अपेक्षा नै थिएन ।
ती विद्यार्थीले उभिएर प्रधानमन्त्रीलाई सोधे- सम्माननीय प्रधानमन्त्रीज्यूलाई मेरो एकमात्र प्रश्न रहेको छ । मलाई गणित विषयको फर्मुलाले कहिलेकहिँ त टेन्सन नै दिन्छ । तपाईँलाई थाहा छ, ए प्लस बी को होल स्क्वायरको फर्मुला के होला ? थाहा छ भने कृपया बताइदिनुस् न ।
जवाफमा प्रधानमन्त्री ओलीले धेरै कुरा पुरानो गर्नुभयो भन्दै उतैतिर फर्किएर प्रश्न गरे- ए स्क्वायर प्लस टुएबी प्लस बी स्क्वायर हो ? यस्तै लाग्छ, तर धेरै पुरानो सम्झिन गाह्रो ।
तलबाट विद्यार्थीले हो भनेर ताली बजाएपछि प्रधानमन्त्री ओलीले जिन्दगीका जटिलतालाई पनि सूत्रबाट हल गर्न सिकाए ।
