• Sunday 1st of November 2026

यसरी भावुक हुँदै देउवाले सम्झिए ओलीसँग बिताएका जेल जीवनका दिन!


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा पुगेर प्रधानमन्त्री केपी ओलीसँग बिताएका जेल जीवनका दिन स्मरण गरेका छन्। मङ्गलवारबाट पोखरामा सुरु भएको कांग्रेसका जिल्ला सभापतिहरूसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ओली र आफू जेल जीवनका साथी रहेको उल्लेख गर्दै त्यति बेला कष्टकर दिन सँगै गुजारेको बताएका छन्।

‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौँ,’ सभापति देउवाले भने,‘धेरै दुःख, कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो ।’ प्रधानमन्त्री ओलीलाई झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखिएको देउवाले बताए।

त्यही भएकाले अहिलेको स्थितिमा कांग्रेस–एमाले मुख्य प्रतिस्पर्धी नै भए पनि ओलीलाई अविश्वास गरिहाल्नु नपर्ने भन्दै देउवाले कांग्रेस नेताहरूसँग आग्रह गरे । ‘हामी मुख्य प्रतिस्पर्धी हौँ, तर पनि केपी ओलीलाई अविश्वास गर्नुपर्ने कुरा छैन,’ सभापति देउवाले भने।

मुलुक सधैँ राजनीतिक रूपमा अस्थिर हुन पुगेकाले अहिलेको आवश्यकता स्थिरता रहेको पनि सभापति देउवाले बताए। उनले भने, ‘कति बेला सरकार ढल्ने हो, कति दिन चल्ने हो भन्ने पनि थाहा हुँदैन । दुई वटा पार्टी मिलेर सरकार बनेको छ, यसको स्थायित्व स्पष्ट छ।’

दुई ठुला दल नै मिलेर सरकार चलाउनु पर्ने आवाज आएकाले पछिल्लो गठबन्धन बनेको पनि उनले बताए। ‘अहिलेको बेला मात्रै होइन, धेरै वर्षसम्म एमाले र कांग्रेसबीच सहमति भयो भने राजनीतिक स्थिरता स्थापित हुन सक्दछ,’ सभापति देउवाले भने । -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖