काठमाडौ । गत शुक्रबार पत्रकारहरूमाथि प्रहरीले गरेको धरपकडपछि सरकारको आलोचना भइरहेको छ । धेरैले सरकारकै निर्देशनमा पत्रकारहरूमाथि धरपकड गराइएको भन्दै आलोचना र विरोध गरिरहेका छन् ।
सुरुमा पक्राउ गर्न निर्देशन दिने र विरोध भएपछि रिहा गर्न तथा थप धरपकड नगर्न आदेश दिएर दोहोरो चरित्र देखाएको भन्दै सरकारको आलोचना भइरहेको हो ।
यसैबीच नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री सचिवालयले २८ जना पत्रकारको सूची दिएर पक्राउ गर्न निर्देशन दिएको दाबीसहितको समाचार आइतबार प्रकाशन गरेको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनकै योजनामा धरपकड गराइएको दाबी समाचारमा गरिएको छ ।
यसप्रति प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले भने हास्यास्पद टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा आइतबार दिउँसो उनले लेखेका छन्, ‘यो २८ जना पत्रकारमा को–को पर्या हो ? २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो’, बेनले २० पत्रकारलाई मेन्सन गर्दै फेसबुकमा लेखेका छन् ।
