• Sunday 1st of November 2026

आठ महिनापछि बालेन सरकारप्रति गगन आक्रामक


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापा आठ महिनापछि सरकारप्रति आक्रमक सुनिएका छन् । पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनको टिम स्वेच्छाचारी ढंगले अघि बढ्न थालेपछि गगन आक्रामक देखिएका हुन् ।

आइतबार पार्टी कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै थापाले सरकार र रास्वपा दुवैका कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे । उनले सरकारले मुलुकको अर्थतन्त्र सही बनाउन नसकेको टिप्पणी गरेका छन्।

प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारबारे धारणा सार्वजनिक गर्दै थापाले सरकारको ध्यान अर्थतन्त्र सुधार गर्नेमा भन्दा बाहिरी कुरामा भएको बताएका हुन्।

‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिन ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने हैन ?,’ उनले भने, ‘यी सबको कारण विश्वासको संकट हो। सरकारको पोलिसी यस्तो छैन। सब थुरथुर छन् कर्मचारी थुरथर, व्यवसायी थुरथर। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक निकायको हालत हेर्नुस् त।’

थापाले सरकारले शिथिल अर्थतन्त्र सुधारका लागि सहयोग मागे दिन तयार रहेको पनि बताए। ‘शिथिल भएको इकोनोमीलाई तर्साएर हैन भरोसा र विश्वास दिनुपर्ने हो। अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्दैनौं,’ उनले सरकारलाई भने ‘यस्तो अपोजिसन पाउनु भएको छ( बिल पास गर्न चाहनु भएको( अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हो। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौं। अर्थतन्त्र सुधारको काम गरौँ भन्नु त हामी सहयोग गर्न तयार छौं।’

वर्तमान सरकार विश्वास र सहकार्यभन्दा भय र डर देखाएर अघि बढेको भन्दै कडा आलोचना गरे । सरकारले गृहमन्त्री सुधन गुरुङदेखि अन्य छानबिन प्रतिवेदन लुकाउने गरेको, अति सेलेक्टिभ बनेको भन्दै आक्रोश व्यक्त गरे । 

थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनालाई सामान्य रूपमा लिन नहुने बताए । उनले यस घटनाले सरकारको राज्य सञ्चालनसम्बन्धी सोच, नागरिक अधिकार र प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको भन्दै कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए ।
थापाले लोकतन्त्र, नागरिक अधिकार, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले सीमा नाघे कांग्रेसले प्रतिवाद र प्रतिरोध गर्ने बताए ।

‘हामी प्रमुख प्रतिपक्षको जिम्मेवारीमा छौं । नयाँ परिवेशमा नयाँ ढंगले काम गरोस् भन्ने अपेक्षा छ । जहाँ साथ दिनुपर्ने हो, साथ दिन्छौं । सहयोग गर्नुपर्ने ठाउँमा सहयोग गर्छौं र विरोध गर्नुपर्ने ठाउँमा विरोध गर्छौं,’ उनले भने, ‘हामीले निर्णयबाट मात्रै होइन, कामबाट पनि यो कुरा प्रमाणित गरेका छौं । तर प्रजातन्त्र, लोकतन्त्र, नागरिकको अधिकार र मौलिक हकका सन्दर्भमा सरकारले सीमा नाघ्छ भने हामी चुप लागेर बस्दैनौं । आवश्यकता परे प्रतिवाद र प्रतिरोध गर्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖