काठमाडौ । जिल्ला प्रहरी कार्यालय, पर्साले सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा रवि लामिछानेसहित ३५ जनाविरुद्ध अभियोग पत्र दर्ता गर्ने तयारी गरेको छ । सहकारीका झाडी चार हजार आठ सय सदस्यहरूले आफ्नो बचत फिर्ता नपाएको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
चितवनमा लामिछानेविरुद्ध उजुरी दर्ता भइसकेको छ र त्यहाँको कानुनी प्रक्रिया सकिएपछि पर्सा प्रहरीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अभियोग पत्र दर्ता गर्ने जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले समेत पर्सा जिल्ला प्रहरी कार्यालयमा आएर सानो पाइला सहकारीसम्बन्धी उजुरीको अध्ययन गरिरहेको छ ।
यसअघि वीरगञ्ज महानगरपालिका र मनीषकुमार सिस्काले पर्सा जिल्ला अदालतमा सानो पाइला सहकारीविरुद्ध दुई वटा मुद्दा दर्ता गरिसकेका थिए, तर ती अभियोग पत्रमा रवि लामिछानेको नाम उल्लेख गरिएको थिएन । तर, पूर्व डिआइजी छविलाल जोशीको घरमा भएको छापामारीमा लामिछानेसँग सम्बन्धित ठगीका प्रमाण भेटिएको दाबी प्रहरीले गरेको छ । सोही आधारमा तेस्रो अभियोग पत्रमा लामिछानेको नाम समावेश गरिने तयारी गरिएको हो ।
सहकारीबाट ठगिएको भन्दै १७९ जनाले प्रहरीमा जाहेरी दिएका थिए, जसको आधारमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुद्दा परेकामध्ये संस्थाकी पूर्व उपाध्यक्ष नेहा पौडेल स्वयं प्रहरीमा उपस्थित भएकी थिइन् भने कर्मचारी राधेचन्द्र यादव पक्राउ परेका थिए । पर्सा जिल्ला अदालतले पौडेललाई १ करोड १० लाख धरौटीमा र यादवलाई ३५ लाख धरौटीमा रिहा गरिसकेको छ ।
पर्सा प्रहरीले सानो पाइला सहकारीको २०७८ वैशाखदेखि साउनसम्मको बैंक विवरण जाँच गर्दा रकम अपचलन भएको पुष्टि भएको जनाएको छ । प्रारम्भिक मुद्दामा २४.५ करोड अपचलनको आरोप लगाइएको भए पनि दोस्रो र तेस्रो मुद्दामा उक्त रकम बढेर करिब एक अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
रवि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख, रूपन्देहीबाट ६० लाख, र काठमाडौँ जिल्ला अदालतबाट १ करोड धरौटीमा रिहा भएका छन् । हाल उनीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएर थुनछेक बहस चलिरहेको छ । बुधवार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो । आज पुनः बहस हुने अनुमान गरिएको छ ।
लामिछानेलाई पर्सा जिल्ला अदालतमा पनि बयानका लागि बोलाइएको थियो र अब अभियोग पत्र दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार, चितवनमा परेको उजुरीको छिनोफानो भएपछि पर्सामा लामिछानेविरुद्धको मुद्दा अगाडि बढाइनेछ ।
