• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसरी भयो श्रीमती र दुई छोरालाई चढाएको गाडी दुई किलोमिटर नगुड्दै दुर्घटना


  • धनकुटा खबर
  • .

रोल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ । उनका दुइ नाबालक छोरा गम्भीर घाइते छन्।
मृत्यु हुनेमा गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख भरत लामाले बताए ।

दुर्घटनामा परी शिक्षिका सीता खड्काको घटनास्थलमै मृत्यु भएको छ । उनका दुइ छोराहरु ३ वर्षीय सौरभ वली र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए।

दुबै बालकलाई स्थानीय गैरीगाउँ स्वास्थ्य चौकी तिलामा प्रारम्भिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डिएसपी लामाले बताए ।

माडी गाउँपालिकाको घर्तीगाउँदेखि दाङको घोराहीतर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको सामान बेच्नका लागि हिडेको बोलेरो जिप त्रिवेणी गाउँपालिका – ७ गाङमा शुक्रबार बेलकी पख दुर्घटनामा परेको थियो ।
त्यो गाडीमा मृतक सीतासहित उनका दुई छोरा चालक र सहचालक गरी पाँच जना मात्रै सवार रहेका थिए । डिएसपी लामाले दुर्घटना लगतै चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिप सडकदेखि झन्डै ५० मिटर तल खसेको डिएसपी लामाले बताए ।

त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणि डाँगीका अनुसार मृतक शिक्षिका सीता खड्का रुन्टीगढी गाउँपालिकाको एक स्कुलकी प्रावि तहकी स्थायी शिक्षिका थिइन । उनले गर्त वर्ष मात्रै स्थायी शिक्षिका बनेकी थिइन्। विद्यालयको परीक्षाका लागि विज्ञान बिषयको प्रश्न पत्र तयार पार्नका लागि उनी आफ्ना छोराहरुसहित लिवाङ आएकी थिइन्।

सीतका श्रीमान पूर्ण वलीपनि शिक्षक हुन्। उनी हालसालै सरुवा भएर गंगादेव गाउँपालिकाको एक विद्यालयमा आएका थिए ।

अर्का एक स्थानीयका अनुसार श्रीमान – श्रीमति जुँगारमा भएको शिक्षक तालिममा संगै सहभागी थिए । श्रीमान पूर्ण वली गंगादेव तर्फ जानु पर्ने भएपछि उनैले सामान बेच्नका लागि आएको गाडीमा श्रीमति र दुई छोरालाई चढाएर आफू त्यता लागेका थिए।

सीता र उनका दुई छोरा सवार उक्त गाडी दुई किलोमिटरको दुरी पार नगर्दै दुर्घटनामा परेको स्थानीय अमृत वलीले पनि जानकारी दिए ।
चालक र सहचालक फरार रहेको हुँदा उनीहरु नियन्त्रणमा आएपछि मात्रै दुर्घटनाको कारण खुल्ने डिएसपी लामाले बताए ।-नारायण खड्का/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖