काठमाडौं – दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारको गृहमन्त्री रमेश लेखकविरुद्ध रणनीति बनाएको अडियो सार्वजनिक भएको छ। केही दिनअघि उपत्यकाभित्र आफ्ना निकट व्यक्तिहरूसँग गोप्य बैठक गर्दै उनले गृहमन्त्री लेखकलाई व्यक्तिगत रूपमा टार्गेट गर्ने योजना बनाएको खुलासा भएको छ।
अडियोमा सुनारका समर्थकहरूले उत्तेजक अभिव्यक्ति दिइरहेको सुन्न सकिन्छ। दलित आन्दोलनका नाममा हातखुट्टामा नेल लगाएर माइतीघर मण्डलामा एकल प्रदर्शन गर्ने सुनारले गृहमन्त्रीविरुद्ध कडा रणनीति बनाएको देखिन्छ। सत्येन्द्र राम र नेहा रौनियारको विषयलाई लिएर पछिल्लो हप्तादेखि उनी लगातार प्रदर्शन गर्दै आएका छन्।
गृहमन्त्रीविरुद्ध योजनाबद्ध अभियान
सुनारको सार्वजनिक अडियोमा उनले गृहमन्त्री लेखकलाई कमजोर बनाउन राजनीतिक भन्दा व्यक्तिगत योजनाहरू तयार पारेको सुन्न सकिन्छ। ‘कांग्रेसको पार्टी कार्यालयमा नेल लगाएर जान्छु, माइतीघर मण्डलामा आउँछु, मुख्यसचिवलाई भेट्छु’ भन्ने सुनारको अडियो सार्वजनिक भएसँगै यो आन्दोलन राजनीतिक भन्दा व्यक्तिगत बदला लिने रणनीति जस्तो देखिएको छ।
उनले थप योजना सुनाउँदै भनेका छन्, “माइतीघर मण्डलामा खुला प्रेस मिट गर्छु, गृहमन्त्रीलाई कारबाहीको माग गर्छु, जाहेरी लिएर प्रहरी परिसरसम्म हिँड्दै जान्छु। यदि दर्ता गर्न मानेन भने अदालत, मानवअधिकार आयोग, दलित आयोग हुँदै सिंहदरबार र संसद भवनसम्म पुग्छु।”
फेसबुकमा सार्वजनिक धम्की
खगेन्द्र सुनारले सामाजिक सञ्जालमार्फत पनि गृहमन्त्री लेखकलाई धम्की दिँदै ‘दम छ भने लडौं, सामन्तीहरूसँग लड्न तयार छौं, गृहमन्त्री मुर्दाबाद!’ भन्ने पोस्ट गरेका छन्। उनले लेखेका पोस्टमा लेखकको तस्बिरसमेत राखेर खुलेआम चेतावनी दिएका छन्।
विदेशी शक्तिको संलग्नता?
अडियोमा सुनिएको भाषाले यो आन्दोलन केवल दलित अधिकारका लागि मात्र नभई गृहमन्त्रीलाई व्यक्तिगत रूपमा घेराबन्दी गर्ने रणनीति हो भन्ने देखिन्छ। अडियोका कतिपय अंशले बाह्य शक्तिको संलग्नताको संकेतसमेत गरेको छ।
गोप्य रूपमा योजना बनाएर सरकारविरुद्ध अभियान चलाउने सुनारको रणनीति सार्वजनिक भएपछि यो आन्दोलनको वास्तविक उद्देश्य के हो? गृहमन्त्रीलाई निशाना बनाउनुको पछाडि अन्य कुनै स्वार्थ त छैन? भन्ने प्रश्नहरू उठ्न थालेका छन्।
अब सरकार र सुरक्षा निकायले यसबारे के कदम चाल्छन्? दलित आन्दोलनको नाममा व्यक्तिगत बदला लिने प्रयासलाई रोक्न सरकार कति सक्षम हुन्छ? यी प्रश्नहरूका उत्तर आउने दिनमा स्पष्ट हुनेछ।
