• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

वडाध्यक्षले घाँटी थिचेर सचिवलाई कुटेका थिए, नेताहरू मिलाउन दबाब दिंदै


  • धनकुटा खबर
  • .

काठमाडौं– तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का सचिव नवीन भुसाललाई सोही वडाका अध्यक्ष बलबहादुर गुरुङले एउटा बिलको विषयमा घाँटी थिचेर अस्पताल नै भर्ना हुनेगरी कुटपिट गरेको घटनामा अहिले मिलापत्र गर्न एमालेका स्थानीय नेताहरूले दबाब दिइरहेका छन्।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङले ज्यान मार्ने धम्की समेत दिएर कार्यालयको भित्तामा घाँटी थिचेर कुटपिट गरेका थिए। अहिले सो गाउँपालिका भित्रका सबै कर्मचारीले अत्यावश्यकबाहेकका सेवा ठप्प पार्ने बताएका छन्।

वडाध्यक्ष गुरुङ एमालेबाट निर्वाचित हुन्।

दोषीमाथि कारबाही गरेर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन कर्मचारीको माग छ। कर्मचारीसँग सम्बन्धित संघ संगठनहरुले पनि दाषीमाथि कारबाही गर्न माग गरिरहेका छन्।

पालिकाका कर्मचारीबाट दिइएको उजुरी र दबाबपछि आक्रमणमा उत्रिने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

मुद्दा दर्ता भइसकेको छैन। तर प्रहरीले पनि यस्तो घटनामा मिलापत्र हुने सम्भावना कम रहेको जनाएको छ। ‘पीडितले के विषयमा जाहेरी दिनुहुन्छ, त्यहिअनुसार मुद्दा चलाउनुपर्ने हुन्छ’, प्रहरी अधिकारी भन्छन्।

पक्राउ परेका वडाध्यक्षले सचिवमाथि आक्रमण गरेको स्वीकार गर्दै भनेका छन्,‘मुखले नमानेपछि हातले हानें, ३ झापड हानेकै हो।’

एमालेका स्थानीय नेताहरूले अब विवादलाई अझ गहिरो बनाउनुभन्दा मिलापत्र गर्नु राम्रो भन्दै दबाब दिएका छन् भने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यस विषयमा फितलो प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्,‘वडाध्यक्ष त सोझा मानिस् हुन्, त्यसरी चार चार थप्पड हानेका हुन् र?’

वडाध्यक्ष, पालिका अध्यक्षदेखि नेताहरुले भने मिलापत्र गर्न दबाब दिइरहेका छन् ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले पनि कर्मचारीमाथि आक्रमण नै हुनु दुखुद् भएको र स्वयंले पनि सार्वजनिक रुपमै स्वीकारेकाले पनि प्रहरीलाई मुद्दा अगाडि बढाउन समस्या नहुने प्रतिक्रिया दिएका छन्।

वडाध्यक्ष गुरुङले भने बिल पास गर्न कमिशन माग गरेपछि सचिवलाई पिटेको बताएको चर्चा छ।

वडाध्यक्षको आक्रमणबाट उम्किएपछि सचिव भुसालले प्रमुख प्रशासकीय अधिकृत आचार्यलाई फोन गरेर घटना विवरण बताएका थिए। अधिकृत आचार्यले गाडी पठाए र उनलाई बन्दीपुर अस्पतालमा ल्याइएको थियो।

घाँटी र गालामा निलडाम थियो भने त्योबेला वडासचिव भुसाल निकै आत्तिएका थिए। उनी केहीसमय अगाडिमात्रै बिरामी भएर औषधिसमेत खाइरहेका थिए। उनलाई भरतपुर मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको थियो ।

गत असोज १३ गतेमात्र सहायक पाँचौंस्तरको नियुक्तिपत्र बुझेर १८ गते बन्दीपुर वडा नम्बर ६ मा पोस्टिङ भएका थिए भुसाल।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖