• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रकृतिको शव परिवारलाई हस्तान्तरण, नेपाल ल्याइँदै


  • धनकुटा खबर
  • .

भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शव दुई दिनपछि परिवारलाई हस्तान्तरण गरिएको छ।

आइतबार होस्टल कोठामा मृत भेटिएकी प्रकृतिको शव मंगलबार राति परिवारलाई बुझाइएको हो।

भुवनेश्वरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा पोस्टमार्टमपछि शव परिवारलाई हस्तान्तरण गरिएको हो। उनको शव अन्त्येष्टिका लागि नेपाल ल्याइँदै छ।

प्रकृतिले आत्महत्या गर्नुको कारण विश्वविद्यालयकै तेस्रो वर्षमा अध्ययनरत मेकानिकल इन्जिनियरिङ विद्यार्थीको मानसिक दबाब रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आरोपी अद्विक श्रीवास्तवलाई भुवनेश्वर विमानस्थलबाट प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

उनको न्यायको माग गर्दै विद्यार्थीहरूले विश्वविद्यालय परिसर बाहिर मौन प्रदर्शन गरिरहेका छन्। प्रशासनविरुद्ध विद्यार्थीहरूले आक्रोश पोखिरहेका छन्।

यसअघि ओडिशा सरकारले मंगलबार घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको थियो। उक्त तीन सदस्यीय समिति प्रमुख सचिव (गृह) को नेतृत्वमा रहनेछ भने उच्च शिक्षा सचिव र महिला तथा बाल विकास सचिव सदस्य छन्।

समितिले केआईआईटी होस्टलमा प्रकृतिको मृत्युका कारण पत्ता लगाउनुका साथै विश्वविद्यालयले न्यायको माग गर्ने विद्यार्थीलाई निलम्बन किन गर्‍यो भन्नेबारे पनि छानबिन गर्नेछ। साथै, विश्वविद्यालय प्रशासनले घटनाबारे राज्य सरकारलाई जानकारी नदिएको विषयमा पनि अनुसन्धान गरिनेछ।

प्रकृतिको मृत्यु र त्यसपछि विद्यार्थी आन्दोलन चर्किएपछि प्रहरीले केआईआईटी विश्वविद्यालयका पाँच जना अधिकारीलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा शिवानन्द मिश्र (५९ वर्ष) – मानव संसाधन महानिर्देशक, प्रताप कुमार चम्पाटी (५१ वर्ष) – प्रशासनिक निर्देशक, सुधीर कुमार रथ (५९ वर्ष) – होस्टल निर्देशक, रामकान्त नायक (४५ वर्ष) – सुरक्षा गार्ड, जोगेन्द्र बेहरा (२५ वर्ष) – सुरक्षा गार्ड थिए।

तर, पक्राउ परेको केही घण्टामै उनीहरूलाई न्यायिक दण्डाधिकारी प्रथम श्रेणी-२ को अदालतले धरोहर र २० हजार रुपैयाँको धरौटीमा रिहा गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖