• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बेलुनमा ग्यास भर्ने विरुद्ध अभद्र व्यवहारको मुद्दा


  • धनकुटा खबर
  • .

पोखरा- पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भई दुर्घटना भएपछि प्रहरीले भारतीय नागरिक कमलेश कुमारलाई पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा दायर गरेको छ।

फागुन ३ गते पोखराको सभागृहमा आयोजित कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। अनुहार जलेका दुवैलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

प्रहरीले ४१ वर्षीय कुमारलाई फागुन ६ गते पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनले बिना कुनै आधिकारिक अनुमति हाइड्रोजन ग्यास उत्पादन गरी बेलुनमा भरेको खुलेको एक प्रहरी अधिकारीले जानकारी दिए।

उनलाई जिल्ला प्रशासन कार्यालय, कास्कीले प्रारम्भिक रूपमा अभद्र व्यवहारको कसुरमा मुद्दा अघि बढाउने अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए।

उनले भने ‘अनुसन्धान गरिरहेका छौं, अहिलेलाई यति नै।’ बेलुनमा ग्यास भर्ने विषय कसरी अभद्र व्यवहार हुन्छ भन्ने प्रश्नमा उनले भने ‘यो भन्दा धेरै बोल्न मिल्दैन। अनुसन्धानका क्रममा खुल्दै जाला। कुन-कुन कानुनी धाराहरू लागू हुने अनुसन्धानपछि टुंगो लाग्छ।’

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति आफैंले ग्यास उत्पादन गर्ने गरेका थिए। बरामद कच्चा पदार्थको परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। रिपोर्ट आएपछि अन्य कानुनी कारबाहीको टुंगो लाग्ने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖