• Monday 5th of October 2026

लेबनानलाई हराएसँगै नेपाल लिग चरणको अन्तिम खेलअघि नै फाइनलमा


  • धनकुटा खबर
  • .

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत सावित्रा भण्डारी साम्बाले गरेको निर्णायक गोलमा लेबनानलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा लेबनानमाथि १-० गोलको जितसँगै नेपाल फाइनलमा पुगेको हो।

अघिल्लो खेलमा किर्गिस्तानलाई समान १-० गोल अन्तरले पराजित गरेको नेपालले लिग चरणको अन्तिम खेल खेल्नुअघि फाइनलमा स्थान बनायो। नेपालसँगै म्यानमार पनि फाइनलमा पुग्यो। आइतबार म्यानमारसँग लिगको अन्तिम खेल खेलेपछि आगामी बुधबार म्यानमारसँगै फाइनल हुनेछ।

म्यानमारले यसअघि पहिलो खेलमा लेबनानलाई ३-१ गोल तथा बिहीबार भएको दोस्रो खेलमा किर्गिस्तानलाई ५-० गोलले हराएको थियो।
नेपालका लागि साम्बाले पहिलो हाफमा गोल गर्न सफल भइन्। उनले ४२ मिनेटमा डिबक्स बाहिरबाट हानेको सशक्त प्रहार लेबनानकी डिफेन्डरको खुट्टामा लागेर जाली चुमेको थियो।

खेलको नवौं मिनेटमा लेबनानको डरलाग्दो आक्रमणलाई नेपालकी गोलकिपर तथा एन्जिला तुम्बापो सुब्बाले विफल पारिन्। उनले लेबनानकी क्रिस्टी महालुफको प्रहारलाई पञ्च गर्दै क्रसबारमाथि पठाएकी थिइन्।
लगत्तै नेपालकी विमला चौधरी पनि गोल गर्न असफल भइन्। उनले डिबक्सबाट हानेको प्रहार आकासियो।

१२औं मिनेटमा लेबनानले अर्को अवसर गुमायो। नेपाली डिफेन्डरलाई बिट गर्दै डिबक्समा बल पुर्‍याएकी लेवनानकी लैला फिनिसिङमा चुकिन्। नेपालकी गोलकिपर एन्जिलाले गोलपोस्ट छोडिसकेको अवस्थामा उनको प्रहारले गोलपोस्टको दिशा लिन सकेन।

त्यसपछि नेपालले गोल गर्ने दुई अवसर खेर फाल्यो। क्रस बलमा विमला चौधरीको हेडर आकासिदा सावित्रा भण्डारी साम्बाले डिबक्स नजिकबाट गरेको प्रहारले पनि गोलपोस्टको दिशा लिन सकेन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖