• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

महोत्तरीमा युवक हत्याः श्रीमतीले हत्या गराएको आशंका, सीसीटीभी फुटेजमा भेटियो प्रमाण


  • धनकुटा खबर
  • .

जनकपुर । महोत्तरीमा एक युवकको हत्या भएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्पुरका शिवशंकर महतोको हत्या भएको महोत्तरी प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

गौशाला नगरपालिका–८ सागरनाथ वनस्थित रेल्वे ट्रयाकमा ८ गते साँझ उनको शव फेला परे पनि सनाखत भने शनिबार मात्र भएको थियो । उनी डेढ महिनाअघि मात्र भारतको मुम्बईबाट घर फर्किएका थिए ।

प्रारम्भिक अनुसन्धानले उनको हत्या भएको देखाएको जिल्ला प्रहरी प्रवक्ता सन्तुलाल जैसवालले बताए । उनका अनुसार घटनाको अवस्था हेर्दा उनीमाथि धारिलो हतियार प्रयोग पाइएकोले त्यहीअनरुप अनुसन्धान अगाडि बढाएक बताए ।

अहिलेसम्म आफूहरूसँग जाहेरी नआइपुगेको र जाहेरी परेपछि त्यसमा टेकेर अनुसन्धान गर्ने उनले बताए । मृतक महतोका काका रामकुमार भन्छन्, ‘भतिजो भारतको मुम्बईमा होटल लाइनमा काम गथ्र्यो, त्यहाँबाट आएको डेढ, दुई महिना पनि भएको छैन ।’ शिवशंकरकै श्रीमती सिर्जनाले हत्या गराएको काका रामकुमारले दाबी गरे ।

उनका अनुसार शिवशंकर गरिब परिवारका हुन् । ‘ऊसँग मात्र ४/५ धुर घडेरी छ । श्रीमतीले जहिल्यै म यो घरमा बस्दिनँ, मलाई बाहिर राख् वा डेरामा राख् भन्थी,’ रामकुमार भन्छन्, ‘यही निहुँमा पटक–पटक दुबैको झगडा भईरहन्थ्यो ।’

उनका अनुसार यसैबेला उसको श्रीमतीपट्टिको नाना (ससुरा बा) को मृत्यु भयो अनि यही बहानामा सिर्जनाले शिवशंकरलाई फकाएर जबरजस्ती ससुराली लगिन् । रामकुमार दाबी गर्छन्, ‘महेन्द्रनगरको बिच बाटोबाटै अर्कोतर्फ पठाएर हत्या गराइन्, सीसीटीभी फुटेजमा पनि देखाएको छ ।’

सीसीटीभी फुटेजमा श्रीमती सिर्जनाले महेन्द्रनगरमा दुई वटा मोटरसाइकल ‘स्ट्यान्डबाई’ मा राखेकी थिइन् । बच्चासहित शिवशंकर महेन्द्रनगर पुग्दा दुई वटा मोटसाइकलले उनीहरूको प्रतीक्षा गरिरहेको त्यहाँ रहेको सीसीटीभीमा देखिन्छ । त्यसपछि एउटा मोटसाइकलमा आफू बसेर सिर्जना माइततर्फ लाग्छिन् भने अर्कोमा श्रीमान् शिवशंकरलाई चढाएर अर्कै दिशामा पठाउँछिन् ।

तर शिवशंकर भने शनिबार साँझ मृत फेला परेका काका रामकुमार बताउँछन् । उनी भन्छन्, ‘घरमा त हामी सबै ढुक्क थियौँ, ससुराली गएको छ भन्ने भयो ।’

तर शुक्रबार दिउँसो महोत्तरी प्रहरीबाट एक्कासि मृतक पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउन भनेपछि मात्र शिवशंकरको मृत्यु भएको आफूहरूले थाहा पाएको उनले बताए ।

उनका अनुसार अहिले जाहेरी लेखाउने काम भइरहेको छ । प्रहरीका अनुसार शिवशंकरको शव नांगो अवस्थामा थियो भने खुकुरीले शरीरका विभिन्न भागमा काटेको भेटिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖