आइपिएल २०२५ को आफ्नो पहिलो खेलमै सनराइजर्स हैदरावादले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेको छ।
घरेलु मैदानमा आइतबार भएको खेलमा सनराइजर्सले राजस्थान रोयल्सविरूद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २८६ रन बनायो।
यो स्कोर आइपिएल इतिहासको दोस्रो ठूलो योगफल हो। यसअघि सन् २०२४ मा हैदरावादले नै आइपिएलकै सर्वाधिक स्कोर बनाएको थियो। हैदरावादले सन् २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुविरूद्ध २८७ रन बनाएको थियो।
सर्वाधिक स्कोर बराबरी गर्न आइतबार हैदरावाद १ रन चुक्यो भने नयाँ कीर्तिमान बनाएन २ रन कम भयो।
यद्यपी हैदरावादले आफैले बनाएको दोस्रो सर्वाधिक स्कोरको कीर्तिमान भने तोड्यो। गत वर्ष नै हैदरावादले मुम्बई इन्डियन्सविरूद्ध २७७ रन बनाएको थियो।
आइतबार हैदरावादका लागि इशान किसनले शतक प्रहार गरे। उनले ४७ बलमा १०६ रन बनाए। यो सिजनकै पहिलो शतक हो। किसनले करिअरमा पहिलो आइपिएल शतक बनाउने क्रममा ११ चौका र ६ छक्का प्रहार गरे।
त्यसअघि ओपनरद्वय अभिषेक शर्माले ११ बलमा २४ रन र ट्राभिस हेडले ३१ बलमा ६७ रन बनाएका थिए। दुईबीच ३.१ ओभरमै ४५ रनको ओपनिङ साझेदारी भएको थियो।
हैदरावादका नितिश रेड्डीले १५ बलमा ३० रन र हेनरिक क्लासेनले १४ बलमा ३४ रन बनाएका थिए।
बलिङमा राजस्थानका तुसार देसपाण्डेले ३ विकेट र महिस तिक्षनाले २ विकेट लिए।
