• Friday 30th of October 2026

कर्मचारीले बालेन र नगर प्रहरीलाई सम्झाए मुलुकी अपराध संहिता


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले प्रशासनिक अव्यवस्था र सेवा प्रवाहमा अवरोध गरेको भन्दै नगरप्रमुख बालेन शाह र नगर प्रहरीलाई मुलुकी अपराध संहिता २०७४ का दुई दफाहरूको स्मरण गराएका छन्।

स्थानीय तह कर्मचारी युनियन र स्थानीय तह कर्मचारी संघले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सहज काम गर्ने वातावरण बनाउन अनुरोध गरेका हुन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा ६६ मा सार्वजनिक पद धारण गर्ने व्यक्तिले कर्तव्य पूरा नगरी वा जानाजान सेवा प्रवाहमा बाधा पुर्‍याएमा कानुनी कारबाही हुने व्यवस्था छ।

यस्तै दफा ८६ मा राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पूरा गर्दा अवरोध पुर्‍याउन नहुने व्यवस्था गरिएको छ ।

यसैगरी कर्मचारीले नगर प्रहरीलाई महानगर प्रहरी ऐनको उपदफा ३ पनि सम्झाएका छन् । जसमा महानगर प्रहरीको आचरण, अनुशासनबारे उल्लेख छ ।

विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा सहज वातावरण बनाउन लागिपरेका सबैलाई धन्यवाद पनि दिइएको छ ।

विज्ञप्तिमा लेखिएको छ- सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्मुर्ण जनप्रतिनिधिज्यू तथा महानगरपालिकामा कार्यरत कर्मचारी साथीहरूलाई हार्दिक धन्यवादसहित महानगरपालिकाको आन्तरिक प्रशासनिक संयन्त्र संचालनमा देखिएको समग्र ज्यादतीको नजिकबाट नियाली सत्य र तथ्य समाचार सम्प्रेषण गरिदिनु हुने समग्र सञ्चार गृह तथा आमसञ्चारकर्मी मित्रहरूलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय पुगेर हाजिर गरेका छन् । बिहीबार तनावबिच गुरागाईंले महानगर पुगेर हाजिर गरेका हुन् । कार्यालय प्रवेशका क्रममा भने महानगर प्रहरीले अवरोध सिर्जना गरेको थियो ।

गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास भएपछि उपप्रमुख सुनिता डंगोल, विभिन्न वडाका वडाध्यक्षका साथै कर्मचारीहरूले कार्यकक्षमा पुराएका थिए । कार्यकक्ष पुग्दा ताला नखोले पछि ढोका फोडेर गुरागाईँलाई हाजिर गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖