• Friday 30th of October 2026

दुर्गा प्रसाई काँकडभिट्टा हुँदै पानीट्यांकीबाट भारत छिरेको प्रहरीको आशङ्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका दुर्गा प्रसाईं भारत पुगेको आशङ्का गरिएको छ । चैत १५ मा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । पूर्व राजाको पक्षमा आयोजित प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो । सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्द गरिएको छ ।

प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले प्रसाईंलाई खोजिरहेको छ । उनी विरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रदर्शन बिथोलिएपछि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियोमा चढेर हिँडेका प्रसाई हालसम्म फेला परेका छैनन् । प्रसाईंको खोजीमा ३ वटा प्रहरी युनिट जुटेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘प्रसाईं भारत पुगेको आशङ्का गरिएको छ ।’

प्रसाईं चढेर गएको स्कोर्पियो इटहरीमा फेला परेको छ । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका छन् । तीनकुनेबाट प्रसाईं ललितपुरको इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगे । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडको खतिवडाले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार उनी इमाडोलबाट चापागाउँ पुग्छन् ।

चापागाउँबाट फर्केर बनेपा हुँदै झापा गएको स्कोर्पियो चालकले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । काँकडभिट्टा हुँदै उनी पानीट्यांकीबाट भारत छिरेको प्रहरीको आशङ्का छ । अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत भन्छन्, ‘दुर्गा प्रसाईं पानीट्यांकीबाट भारततर्फ लागेको हाम्रो आशङ्का छ, हामीले खोजी कार्य जारी राखेका छौँ ।’

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले स्कोर्पियो धनी काठमाडौँको काँडाघारी घर भएका मुकुन्द दाहाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पूर्वराजा फर्काउने उद्घोष सहित काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शन दुर्गा प्रसाईंको कारण हिंसात्मक बनेको सुरक्षा विश्लेषण छ । प्रदर्शनको कमान्डर मध्येका संयोजक दुर्गा प्रसाईं आफैँले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि स्थिति हिंसात्मक बनेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रदर्शन हिंसात्मक बनेसँगै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जन र पत्रकार सुरेश रजक छन् । प्रदर्शनमा सहभागी ६७ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध राज्य विरुद्धको कसुर आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖