• Friday 30th of October 2026

रवि पक्राउपछि रास्वपाका ४ निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आकस्मिक भर्चुअल बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ ।

शुक्रबार अबेरदेखि शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यस्तै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने बैठकले निर्णय गरेको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैँ, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने’, बैठकपछि रास्वपाले गरेको निर्णयमा उल्लेख छ ।

पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’, रास्वपाको भनाइ छ ।

नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानुनी कार्य भएको भन्दै रास्वपाले भत्सर्ना गरेको छ ।

यस्तै रास्वपाले शनिबार चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने निर्णय गरेको छ । राज्यले विवेक गुमाएको बेला पार्टीले विवेक नगुमाउने भन्दै रास्वपाले भनेको छ, ‘हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।’

यस्तै पार्टी सभापति लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । सो आदेशसँगै शुक्रबार राति लामिछाने निवासबाटै पक्राउ परेका थिए । लामिछानेको निवासमा प्रहरी पक्राउ पुर्जी बिनै गएको थियो । सो क्रममा केहीबेर विवाद समेत भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖