• Thursday 29th of October 2026

आसाममा भेटियो ‘काठमाडौंमा छु’ भन्दै दुर्गा प्रसाईंले भिडियो खिचेको मन्दिर


  • धनकुटा खबर
  • .

काठमाडौं । तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनपछि फरार दुर्गा प्रसाईं भारतको आसाम राज्यस्थित वास्का जिल्लामा एक नेपाली मुलका नागरिकको घरमा लुकेर बसेको फेला परेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालयसहितको टोलीले लामो समय रेकी गरेर उनलाई पक्राउ गरेर ल्याएपछि प्रसाईं त्यहाँ लुकेर बसेको खुलेको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रसाईंले फरार भएपछि जारी गरेका दुई वटा भिडियो सन्देश समेत त्यहीँ खिचेको पाइएको छ ।

१७ चैतमा दिउँसो १ः१२ बजे उनले पहिलो भिडियो सन्देश जारी गर्दै ‘आफू काठमाडौंकै एक मन्दिरमा रहेको दाबी’ गरेका थिए । त्यो भिडियोमा उनले आफूलाई सरकारले गोली हान्न लागेको थाहा पाएपछि सुरक्षित स्थानमा हिँडेको दाबी गरेका थिए ।

तर, त्यो भिडियो आसामबाट उनी पक्राउ परेकै घरमा खिचेको भेटिएको प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

‘हाम्रो टोलीका अधिकृतहरुले त्यही मन्दिरमा गएर दर्शन नै गरेर आइसकेका छन्, पछि प्रमाण हुने भएकाले त्यसको तस्वीरहरु समेत ल्याइएको छ’, ती अधिकृतले भने, ‘दोस्रो भिडियो समेत त्यही क्षेत्रमा खिचेको पाइएको छ ।’

प्रसाईंले बुधबार दोस्रो भिडियो सन्देश सार्वजनिक गरेका थिए, त्यसको पृष्ठभूमि चाहिँ एडिट गरेर जोडेको पाइएको छ ।

‘त्यो भिडियो खिचेको स्थान समेत पत्ता लगाएका छौं, तर ब्याकग्राउण्ड चाहिँ एडिट गरेर राखेको पाइएको छ’, उनले थपे, ‘जे होस्, उनी आफू काठमाडौंमा छु भन्दै आसाममा ढुक्कले बसेका थिए ।’

भारतीय प्रहरीसँग समेत समन्वय गरेर नेपाल प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै झापा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय, झापामा समेत केही समय राखेर उनलाई ११ः४८ बजे चन्द्रगढी विमानस्थलबाट काठमाडौंतर्फ ल्याउँदै छ ।

काठमाडौंमा जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा उनलाई राखिने छ । त्यहाँ अहिले राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत पनि छन् । १५ चैतको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु, दर्जनौं सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖