• Thursday 29th of October 2026

आवश्यकता अनुसार दुर्गा प्रसाईंको उपचार व्यवस्था गर्न अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं जिल्ला अदालतले तीनकुनेको हिंसात्मक घटनाका कमाण्डर दुर्गा प्रसाईंलाई आवश्यकताअनुसार उपचारको प्रबन्ध गर्न आदेश दिएको छ।
शुक्रबार प्रहरीले काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रसाईंलाई काठमाडौं ल्याएर म्याद थपका लागि अदालत उपस्थित गराएको थियो।

प्रसाईंसहित उनका बडिगार्ड भनिएका दीपक खड्कामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको हो।
न्यायाधीश शिशिरराज ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

दुर्गा प्रसाईंको हकमा भने आवश्यक उपचारको प्रबन्ध गर्न पनि आदेश भएको सूचना अधिकारी श्रेष्ठले बताए।

‘दुर्गा प्रसाईंको हकमा बिरामी भएको भनेपछि सम्बन्धित चिकित्सकको सिफारिस बमोजिम आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान निकायलाई निर्देशन दिने आदेश भएको छ,’ उनले भने।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन प्रसाईंकै नेतृत्वमा भएको थियो।

प्रदर्शनमा दुई जना मारिएका थिए। दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो।

प्रसाईं सोही दिनदेखि फरार थिए। उनले सामाजिक सञ्जालबाट भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंमै रहेको बताउँदै आएका थिए।

सोही घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖