काठमाडौंको तीनकुने घटना भएको दुई सातापछि दुर्गा प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। फरार रहनका लागि प्रसाईंले सामाजिक सञ्जाल फेसबुक भरपुर प्रयोग गरे।
प्रहरी, समर्थक र आम मानिसलाई झुक्क्याउन र भ्रममा छर्न उनले फेसबुक प्रयोग गरेका हुन्। प्रसाईंको आफ्नो फेसबुक पेज ‘भेरिफाइड’ छ। उनको वास्तविक आइडीबाट अन्तिम पटक चैत १५ गते साँझ ६:४५ मा पोस्ट भएको छ। त्यसपछि भने उनको त्यो फेसबुक आइडी निष्क्रिय रह्यो।
प्रहरीले प्रसाईंलाई त्यही दिन साँझदेखि नै ट्र्याक गर्न थालिसकेको थियो। तर उनी फरार भए। दुई दिन पछि एकाएक फेसबुकमा ‘दुर्गा प्रसाईंज्यूको सन्देश’ भन्दै भिडिओ बाहिरियो।
उक्त भिडिओ दुर्गा प्रसाईं (महाअधियान संस्थापक सचिवालय) नामक आइडीबाट सार्वजनिक भएको थियो।
उनले एक मन्दिर अगाडि बसेर आफू काठमाडौंकै कुनै मन्दिरमा बसिरहेको र आफू कतै नभागेको दाबी गरे। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार त्यो भिडिओ प्रसाईंले भारतमै खिचेका थिए। जहाँबाट उनले खिचेर नेपालमा उनका सहयोगीलाई पठाएका थिए।
‘प्रसाईं र उनका अंगरक्षक दीपक खड्का सँगै हिँडे। अन्य पनि उनका केही सहयोगीहरू रहेछन्। उनीहरूले भिडिओ खिच्ने रहेछन्,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।
तर त्यो फेसबुक आइडी भने नेपालबाटै सञ्चालन हुँदै आएको छ।
प्रसाईंको भिडिओ भारतबाट खिचेर नेपाल पठाइएको ती अधिकारीले बताए।
