काठमाडौं, ३० चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक कोर्स परिवर्तन गर्न चाहेका छन् । आफू नेतृत्वको सरकारमा रहेकै बेलामा एमालेबाट अप्रत्यासित धोका व्यहोरेका दाहाल सुरुवातदेखि नै कांग्रेससँग नरम र एमालेसँग गरम देखिन्छन् ।
उनी एमाले नेतृत्व केपी शर्मा ओलीसँग अलिक बढि नै असन्तुष्ट छन् । संसद् र सडक सबै मोर्चामा प्रचण्ड प्रधानमन्त्री अोलीविरुद्ध नै अलिक बढि कडा रुपमा पेश भइरहेका छन् । कांग्रेस–एमाले सहकार्यपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि मुस्किलले दुई/तीन पटक गरेका छन् । त्यो पनि देउवासहित भेटेका छन् ।
शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने सवालमा मुख्य दलका मुख्य नेताहरु एक ठाउँमा भेला भएका थिए । तर, प्रधानमन्त्री ओली र प्रचण्डबीच एक्लाएक्लै यो पछिल्लो ९ महिनामा राजनीतिक हिसाबले भेटवार्ता भएको छैन । तर, कांग्रेस सभापति शेरबहादुर देउवासँग भने उनले लगातार भेटवार्ता गरिरहेका छन् । दाहालको पारिवारिक समारोहमा समेत देउवाले भाग लिएका छन् ।
