• Thursday 29th of October 2026

रामकुमारी झाक्रीलाई आन्दोलनरत शिक्षकको प्रश्न : रमिता तपाईंले देखाएको कि हामीले ?


  • धनकुटा खबर
  • .

पूर्वमन्त्री रामकुमारी झाक्रीले रमिता बढी भएको भन्ने टिप्पणीप्रति आन्दोलनरत शिक्षकहरुले आपत्ति जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)की नेता झाक्रीलाई विगतका तीन वटा उदाहरण प्रस्तुत गर्दै आन्दोलनका एक सक्रिय शिक्षक बिश्वर सिंह मेवाहाङले रमिताको सही अर्थ खोज्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर “रमिता” भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु । मेरा केही कन्फ्युजन निम्न बमोजिम छन् ।’

आफूहरुले गरेका हरेक आन्दोलन महत्त्वपूर्ण हुने चर्चा गर्दै मेवाहाङले भनेका छन्, ‘आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नू मानसिक स्खलन बाहेक केही होइन ।’

शिक्षक बिश्वर सिंह मेवाहाङको सामाजिक सञ्जालबाट

आदरणीय रामकुमारी झाक्री दिदी

सादर नमस्कार ।

शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर “रमिता” भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु । मेरा केही कन्फ्युजन निम्न बमोजिम छन् ।

१. तपाईले २०६० को दशकमा टाउकोमा फेटा बाँधेर सडक पेटीको रेलिङ भाँच्दै राज्यसत्ता विरुद्ध ढुंगा हानिरहदा त्यो बेलाको शासकहरुले पनि तपाईंलाई ” के रमिता देखाएको” भन्थे । त्यो साच्चै रमिता थियो कि आन्दोलन ?

२. २०७७ सालमा आफ्नै पार्टीको अध्यक्षको विरुद्धमा मुखमा टेप बाँधेर हिन्दी फिल्मी शैलीमा मञ्चमा इन्ट्री गर्दा तपाईलाई तपाईकै अध्यक्षले “रमिता देखाउने केटी” भनेका थिए । त्यो साच्चै रमिता थियो कि बिद्रोह ?

३. २०७८ सालमा मन्त्री पदबाट चिप्लिदाँ पत्रकार सम्मेलन मै क्वाक्वा रुनुभएको थियो । धेरैले “के रमिता देखाएको होला” भनेर टिप्पणी गरेका थिए । त्यो साच्चै रमिता थियो कि देशप्रतिको जिम्मेवारीबोध ?

अब हाम्रो आन्दोलनको रमिताको बारेमा केही बोलौ है त । हामीले १८ औ दिनसम्म निरन्तर आन्दोलन गरिरहेका छौँ । आन्दोलनमा कोहि गीत गाइरहेका छन् , कोहि नाचिरहेका छन् , कोहि जादु देखाइरहेका छन्, कोहि टिकटक बनाइरहेका छन् । यी साना तिना क्रियाकलापलाई रमिता भन्नुहुन्छ भने त्यो पनि स्वीकार छ । तर हामीले त जम्मा १८ दिन भो रमिता देखाएको , तपाईंहरुले कति वर्ष भो रमिता देखाएको यो देशमा ? तपाईंहरुको रमिता हेर्न नसकेर प्रत्येक दिन ३ हजार बढी युवाले देश छाड्ने गरेको देख्नु भएको छ ?

हाम्रो रमिता के को लागि हो भनेर तपाई जत्तिको राजनीतिज्ञले बुझ्न सक्नु भएन भने अरु नेताले के बुझ्लान । तपाईंहरु आफैले लेखेको संबिधानमा तीन वर्ष भित्र आवस्यक सम्पुर्ण कानुन निर्माण गरिसक्ने भन्ने बाध्यकारी प्रावधान उल्लेख गरिएको छ । दस वर्ष बितिसक्दा पनि एउटा शिक्षा ऐन बनाउन नसक्नुमा आत्मग्लानी हुदैन ? तपाई आफू एक चोटी सांसद हुँदा र एक चोटि मन्त्री हुँदा शिक्षा ऐन निर्माणको लागि के के भुमिका खेल्नु भयो भन्ने हेक्का छ ?

मलाई लाग्थ्यो तपाईं विद्यार्थी राजनीतिबाट आएको हुनाले नेपाली शिक्षा क्षेत्रको सम्पूर्ण समस्या, विकृती, बिसंगती राम्ररी बुझ्नु हुन्छ । यसको निराकरणको लागि कस्तो कानुन बनाउने भन्ने बारे तपाईंबाट गम्भीर सुझाबहरु आउनु पर्थ्यो । तर तपाईं पनि शासक भइसक्नु भएछ । आदेश दिन थाल्नु भयो । आदेश दिनु शासकहरुको विश्वव्यापी विषेशता हो । शासकहरुले समस्या सुल्झाउदैन, बल्झाउछ मात्र ।

र अन्त्यमा दिदी,

आफूले गरेका हरेक आन्दोलन आफ्नो लागि गौरवपुर्ण हुन्छ । तपाई आफूले २०५० सालदेखी अहिलेसम्म गरेका आन्दोलनहरु सम्झेर ल्याउनुस त, के ती आन्दोलनहरु तपाईंको लागि गौरवपुर्ण छैनन् ? कि तपाईंलाई आफुले गरेको आन्दोलनप्रती घृणा र पश्चताप छ ? हामी शिक्षकहरुले २०३६ सालदेखी निरन्तर आन्दोलन गरिरहेका छौ । आन्दोलनबाटै प्राप्त उपलब्धिको कारण हामी नेपाली शिक्षलहरु यतिको हैसियमा छौँ । हाम्रो आन्दोलनलाई तपाईं रमिता भन्नुस या तमासा, हाम्रो आन्दोलन हाम्रो लागि गौरवपुर्ण छ । आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नू मानसिक स्खलन बाहेक केही होइन । आगे उप्रान्त तपाईंको जय होस ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖