• Thursday 29th of October 2026

प्रधानमन्त्री ओलीले तीनकुने हिंसात्मक घटना घटाउन बद्नियतपूर्ण गतिविधि गरेर सत्ता सङ्कट टार्न खोजेको माओवादी नेता दाहालको आरोप


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले तीनकुने हिंसात्मक घटनामा सरकारको गम्भीर कमजोरी रहेको बताएका छन् ।

हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेको हिंसात्मकमा बद्नियतपूर्ण गतिविधि गरेर सत्ता सङ्कट टार्न खोजेको आरोप लगाएका हुन् । उक्त प्रदर्शनका क्रममा ५ हजार प्रहरी खटाएर ४ हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसक्नेले त्यसप्रकारको आशंकालाई पुष्टि गर्ने उनको भनाइ छ ।

‘सरकारको असक्षमता, असफलता, सुरक्षाकर्मीको फितलो व्यवस्था, सरकार पनि जिम्मेवार छ । घटना घट्यो, एउटा पार्ट हो । तर, सरकारले समयमै नियन्त्रण गर्न सक्थ्यो । ५ हजार प्रहरी छन्, ४ हजार प्रदर्शनकारीलाई नियन्त्रण गर्दैन । यहाँ के देखिन्छ भने केपीजीको पनि चुलिँदो विकर्षण छ, सरकार संकट छ, सत्ता संकट छ । सरकार सङ्कटलाई टार्न तीनकुने घटनातिर जोड्दिसकेपछि सरकारप्रतिको घृषा, वितृष्णा, उत्तेजना, आवेगलाई ध्यान विकेन्द्रीकरण गर्न सकिन्छ भन्ने बद्नियतपूर्ण ढंगले सरकारले पनि गैरजिम्मेवारपूर्ण ढङ्गबाट गतिविधि गरेको देखिन्छ । सरकार पनि जिम्मेवार छ । यसो भन्दै गर्दा अपराधिक गतिविधिमा संलग्न मान्छेहरु चाहीँ छाडिन हुन्न,’– उनले भने ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको ज्यान गएको थियो । प्रदर्शनकारीहरुले निजी भवन, व्यवसायिक स्थल र सरकारी सम्पत्तिमा आगजानी, तोडफोड र लुटपाटसमेत गरेका थिए । उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नतामा भएको भन्ने कुरामा कुनै शंका नरहेको नेता दाहालले बताए । उनले भने, ‘तीनकुने घटनामा ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नता छ भन्ने विषयमा जनता प्रष्ट छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖