• Thursday 29th of October 2026

देश डुबाएर पनि ओलीलाई नाम चाहिएको छ, ‘आई लभ यू केपी बा’ भन्न एक लाख सडकमा आउँदैछन् रेः महासचिव भुसाल


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देश डुबाएर भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम चाहिएको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विषम परिस्थितिमा पुग्दा पनि त्यसको कुनै पर्वाह नगरी प्रधानमन्त्री ओलीले उल्टै आफ्नो पक्षमा बोलिदिउन् भनेर युवाहरुलाई सडकमा उतार्न लागेको बताएका हुन् । उनले अहिले एमाले प्रधानमन्त्री ओलीजस्तै बनिसकेको बताए । देशको पर्वाह नगर्ने, जनताको कुरा नसुन्ने अवस्थामा प्रधानमन्त्री ओली र एमाले रहेको उनको टिप्पणी छ ।

‘लोकतन्त्रमा पार लगाउने पार्टीले नै हो । अनि पार्टी कस्तो छ भन्दा नेकपा (एमाले) छ । नेकपा (एमाले) कस्तो छ भन्दा कमरेड ओलीजस्तो छ । अरुको कुरा सुन्दैन, जनताको पर्वाह गर्दैन । साह्रा सङ्कटले देश डुब्दैछ, उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर केपी बा भन्दिउन् । त्यो तहमा पुग्ने नेता यो मुलुकको दुर्भाग्य होईन ?’ प्रश्न गर्दै उनले भने ।

एमालेले अगामी वैशाख ११ गते ४० वर्ष मुनिका एक लाख युवालाई काठमाडौं उतारेर युवा उत्सव बनाउने घोषणा गरिसकेको छ । प्रधानमन्त्री ओलीविरुद्ध अहिले देशभर नै विश्वास नरहेको र जहाँ गए पनि ‘फलानो चोर, देश छोडको’ को नारा लाग्ने गरेकोमा त्यसलाई काउन्टर दिन आफ्ना कार्यकर्ता उतार्ने मुडमा ओली रहेको उनले बताए । यसरी काठमाडौंमा आउने एक लाख युवाहरुले अब आई लभ यू केपी बा नभनेर क्रान्तिको हिसाब माग्ने बेला आएको महासचिव भुसालले बताए ।

‘सङ्कट हुनसक्छ । तर, विश्वासले बचाउँछ । विश्वास छ ? छैन । यहाँमात्रै होईन, यिनी जहाँ जान्छन्, तिनका विरुद्धमा नारा लाग्न थाल्छ । फलानो चोर, देश छोड भनेर । विश्वासको तह त्यो छ । त्यसलाई जवाफ दिन पर्सी ११ गते ठूलो जन सागरलाई आई लभ यू केपी बा भन्न लगाउने होला । दुर्भाग्य ! देशको यस्तो हालत छ । आउनेहरुले आई लभ यू केपी बा होईन, कमरेड क्रान्तिको हिसाब देउ, पार्टीको विघटनको, संसद्को विघटनको, लोकतन्त्रको यो तहको आक्रमणको हिसाब–किताब देउ भन्नुपर्ने हो । जानुपर्ने त्यता हो,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖