• Thursday 29th of October 2026

हिरासतमा रहेका रवीन्द्र मिश्रले अदालतमा खाए ८२ वर्षकी आमाको कसम


  • धनकुटा खबर
  • .

काठमाडौं – रविन्द्र मिश्रले ८२ वर्षिय आमाको नाममा कसम खाएका छन् । राज्यविरुद्ध कसुर गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका मिश्रले आमाको कसम खाँदै आफूले कसुर नगरेको बताए ।

काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका मिश्रले न्यायाधीशसमक्ष कसम खाएका हुन् । उनले मञ्चमा अश्रुग्यास खसेपछि आवेगमा आएको स्वीकार्दै हिंसाजन्य अभिव्यक्ति नदिएको जिकिरसमेत गरेका छन् ।

मिश्रलाई आज चौंथोपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको हो । उनको पक्षबाट भीमार्जुन आचार्य, सतिसकृष्ण खरेल, गोविन्द बन्दी, दीपेन्द्र झा, बिष्णु भट्टराई र राजु बस्नेतले बहस गरेका थिए । आफ्ना वकिलहरुको बहसपछि मिश्रले थोरै समय लिएर बोलेका हुन् ।

उनले चैत १५ को घटनामा आफूले हिंसाजन्य अभिव्यक्ति नदिएको बताए । शान्तरुपमा भइरहेको सभामा अश्रुग्यास प्रहार भएपछि परिस्थिति बिग्रिएको उनको भनाइ छ ।

यस्तो छ उनको भनाइको सार यो राज्यमाथि नागरिकको विश्वास किन उडिरहेको छ भन्ने म आफैं अनुभव गरिराख्या छु । राज्यका सम्पूर्ण निकाय क्षयीकृत भए पनि न्यायालय एक्लैले राज्यलाई थेग्न सक्छ भन्ने मान्यताका आधारमा म आफ्नो भनाइ राख्छु ।

यो देशमा ईश्वरको नाममा र जनताको नाममा कसम खानेहरुले धेरै फट्याइ गरे । त्यो फट्याइ मेरो भावनात्मक कुरा होइन, तथ्यगतरुपमा प्रमाणित कुरा हो । आज म ८२ वर्षको मेरो गम्भीर बिरामी आमाको नाममा कसम खाएर भन्छु राज्यविरुद्धको कसुर र संगठित अपराधमा मेरो कुनै पनि संलग्नता छैन ।

जुन आधारमा मलाई समातियो र २७ दिनदेखि थुनामा राखिएको छ, अझै पनि थुनामा राख्ने नियत छ भने मजस्ता मान्छेको पनि यो राज्यमाथिको विश्वास उडेर जान्छ ।

पहिलोचोटि ५ दिन म्याद दिइयो । दोस्रोचोटि ६ दिन थप्दा पहिलोचोटि थपेको हुनाले दोस्रोचोटि थप्नुपर्छ भन्ने बताइयो । त्यसपछि मैले यसरी थप्नैपर्छ भने हामीलाई किन यहाँ ल्याएको, सिधै म्याद थपेर हस्ताक्षर गराएको भए भइहाल्थ्यो भन्ने कुरा राखेँ । यो प्रक्रिया मात्रै त होइन । तेस्रो चोटि म्याद थप्न जाँदा मैले श्रीमानलाई भनेँ– जति आवश्यक पर्छ छानबिनका लागि थपिदिनुस् । त्यसो भनेपछि १५ दिनको म्याद थपियो ।

त्यसको बीचमा चैत ३१ गते र वैशाख २ गते गरेर मेरो बयान लिइसकिएको छ । आज वैशाख १० गते भइसक्यो । पहिलो कुरा पक्राउ पूजिबिना पक्राउ गरेको छ । दोस्रो कुरा अदालत बन्द भइसकेपछि साढे ५ बजे ल्याएर म्याद थपेको छ । अब बयान सकिइसक्यो ।

म कार्यक्रममा गएको हो । मञ्चमा गएर बोलेर फर्किने भन्ने सोच थियो । त्यो पनि म बोल्ने होइन, नवराज सुबेदी बोलेर फर्किने भन्ने थियो । बस्दाबस्दै, राष्ट्रिय गान बज्दाबज्दै अश्रुग्यास खस्यो । यस्तो अवस्था थियो कि जतिसुकै प्रयास गरे पनि, अश्रुग्यास खसेपिछ‘ मैले विगतमा त्यसरी आवेगमा आएर बोलेको थाहा छैन । तर त्यो आवेगमा हिंसा छैन । हिंसाजन्य आवेग होइन ।

त्यसकारण यो राज्यमाथिको आम जनताको विश्वास उड्दै जाँदा अदालतले न्याय गरोस भन्ने कामना छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖