• Monday 5th of October 2026

जित उत्सव मनाउँदा कोहलीको फ्यानको अत्याधिक खुसीले मृत्यु


  • धनकुटा खबर
  • .

कर्नाटक, २२ जेठ । आईपीएलको इतिहासमा अन्ततः त्यो क्षण आइपुगेको छ, जसको लागि करोडौं मानिसहरू १८ वर्षदेखि पर्खिरहेका थिए। 

 

रोयल च्यालेन्जर्स बैंगलोर अर्थात आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको छ । विराट कोहलीको टोलीले पञ्जाब किंग्सलाई हराएर इतिहास रच्यो।

कोहलीले ट्रफी उचाले पछि सबै फ्यानको मुटुको धड्कन बढ्यो । सामाजिक सञ्जालदेखि रंगशालासम्म सबैतिर यही गुन्जिरहेको थियो– ‘यसपटक कप हाम्रो हो।’ तर यही उत्सव एक व्यक्तिको मृत्युको कारण बन्न पुगेको छ।

कर्नाटकको बेलगावी जिल्लाको एउटा सानो गाउँ अवराडीमा आरसीबीको जित मनाउने क्रममा एक फ्यानको अचानक मृत्यु भएको छ। मञ्जुनाथ कुम्भारा नामका ती युवक विराट कोहलीका ठूला फ्यान थिए र आरसीबीको जितपछि साथीहरुसँग सेलिब्रेट गरिरहेका थिए । उनी नाच्दै, गाउँदै र पटाका फुकिरहेका थिए । तर अचानक उनी भुइँमा लडे । सबैले रमाइलो गरिरहेकी थिए  तर केही बेरमै सबैको हाँसो रोदनमा परिणत भयो । मञ्जुनाथको घटनास्थलमै मृत्यु भयो ।

 

मञ्जुनाथ जम्मा २५ वर्षका थिए । चिकित्सकका अनुसार उनलाई हृदयघात भएको थियो । अत्यधिक उत्तेजना, भावनात्मक तनाव र लगातारको नाचका कारण उनको मुटुमा दबाब बढेको विश्वास गरिएको छ । जहाँ केही समयअघि गाउँमा आतिशबाजी चलिरहेको थियो, अहिले त्यहाँ सन्नाटा छाएको छ ।

 

मञ्जुनाथको मृत्युले सबैलाई स्तब्ध बनाएको छ । उनका साथीहरूले विराट कोहलीलाई भगवान मान्ने र आरसीबीको जितको लागि दिनहुँ प्रार्थना गर्ने गरेको बताएका छन् ।

 

यो खबर फैलिने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भयो । आरसीबी र विराट कोहलीका फ्यानहरूले मञ्जुनाथलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। कतिपयले लेखेका छन्, ‘जुन दिनको सपनाको प्रतिक्षामा बस्यो र त्यो देख्यो पनि तर अन्ततः त्यही दिन उनी गए ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖